घरघरमा जमरा राखि बडादशैँको शुभारम्भ
नेपालीहरुको महान पर्व विजयादशमी अर्थात बडा दशैँ आजबाट सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घर–घरमा वैद्दिक विधिपूर्वक दियो, कलश र गणेशको पुजा गरी घटस्थापना गर्नुका साथै शक्तिस्वरुपा दुर्गाको पूजा गर्दै जमरा राख्ने चलन छ ।
आज कलशको स्थापना गरी नदी, खोला, बगरमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । शास्त्रीय विधिमा जमरामा जौ बाहेक अरु अन्न रोप्ने विधि छैन । विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।
आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । यसपाली देवी विसर्जनको साईत ८ः२५ बजे रहेको छ । दशैँको टीकाको उत्तम साईत असोज २५ गते ८ बजेर ४५ मिनेट जाँदा छ ।
दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपलाई नव दुर्गाका रुपमा विशेष पूजाआराधना गर्ने गरिन्छ । दसैँलाई असत्यमाथि सत्य र असुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याईन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्ने चलन छ ।
यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
रोजगारी, अध्ययन एवम् अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्