वामदेव गौतमको नेतृत्वमा नयाँ सरकारको तयारी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्नका लागी नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी दाबी गर्नुभएको छ । बिजुक्छेले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको बताउनु भएको छ ।
विजया दशमी, नेपाल संवत ११३७ र दीपावलीका अवसरमा पार्टीको जनवर्गीय संगठनले आयोजना गरेका शुभकामना कार्यक्रममा बिजुक्छेले सँधै सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना रहेको बताउनुभएको हो ।
उहाँले वामदेव गौतम नेतृत्वमा बन्ने सरकारको लागि सम्भावित मन्त्रीको सूची समेत तयार भइसकेको दाबी गर्नुभएको छ । अहिलेको अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन नचाहेको बताउँदै उहाँले भन्नुभयो–‘भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेताको नेतृत्वमा सरकार होस भन्ने चाहेको छ ।’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिनुभएको छ । बिजुक्छेले भन्नुभयो–‘प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन । गएको ६०÷७० वर्षमा गर्न नसकेको काम भारतले अहिले दाहाल मार्फत गरेको छ ।’
बिजुक्छेले प्रधानमन्त्री दाहालका सचिव तथा सल्लाहकार समेत भारतीय दलाल भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो–‘दाहालका सचिव तथा सल्लाहकारहरू भारतीय विस्तारवादका दलाल नभएका भए भारतले नेपाललाई भूटानको स्थितिमा पु¥याउन सक्ने थिएन ।’
बिजुक्छेले प्रधानमन्त्री दाहालले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत नभएको बताउनुभएको छ । भारतीय विस्तारवाद विरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको बताउँदै उहाँले तयारी अवस्थामा रहन युवा कार्यकतालाई निर्देशन दिनुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्