सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल एयरलाईन्स १ सय ५१ यात्रुसहित जापानमा

उडान स्थगन भएको १२ बर्षपछी नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ७ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज आज अवतरण गर्दैछ ।

राति २ः३० बजे भएको पहिलो उडानमा १५१ जना यात्रु बोकेर जहाज ओशाकाका लागी उडेको निगम श्रोतले बताएको छ । ओशाकाको पहिलो उडानमा ९५ जना यात्रु रहेका छन् भने ५६ जना अतिथी यात्रु रहेको नेपाल वायुसेवा निगमले बताएको छ ।

जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत्र २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कार्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।

निगमको वाणिज्य विभागले बुधबार साँझ यो समाचार तयार पार्दासम्म दिएको जानकारी अनुसार पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या साँझसम्म ९५ पुगेको छ । यात्रुबाहेक निगमले आफ्नै खर्चमा पर्यटन राज्यमन्त्रीसहीत ५६ जना अतीथि यात्रुलाई पनि जापान लैजाँदै छ ।

निगमको खर्चमा जापान जाने अतीथी यात्रुहरुमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ५ जना सांसद, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको सञ्चालक समिति सदस्य अच्युतराज पहाडी, अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, २० जना ट्राभल तथा कार्गो सेल्स एजेन्ट, निगमका नायब महाप्रबन्धक गणेश चन्द रहेका छन् ।

Nepal Airlines
फाईल तस्विर

त्यस्तै वाणिज्य विभागका निर्देशक दाहाल, अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चन, निगमलाई वित्तीय सहयोग गर्ने हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकका तीन जना प्रतिनिधि, सोल्टी होटलका महाप्रबन्धक उपल मजुम्दार नागरिक उड्डयन प्राधिकरणका ४ जना कर्मचारी र ३ जना सञ्चारकर्मीसहित ५६ जनालाई निगमले आफ्नै खर्चमा जापान लैजाँदै छ ।

२० जना ट्राभल तथा सेल्स एजेन्टलाई सित्तैमा टिकट दिइएको हो । तर, उनीहरुले जापानमा बसोबास र अन्य खर्च आफैं गर्नुपर्ने छ । यीबाहेक अन्य ३६ जना निगमको निम्तोमा जान लागेकाले उनीहरुको होटल लगायतको खर्च निगमको हुने निर्देशक दाहालले बताएका छन् ।

१२ वर्षपछि वाइडबडी विमानबाट हुन लागेको पहिलो उडानमा पर्यटनमन्त्री योगेश भट्टराई र पर्यटन सचिवसहित थप नामावली पनि थियो । तर, अन्तिम समयमा मन्त्री र सचिवसहित निगमलाई ऋण उपलब्ध गराउने नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका प्रतिनिधिले नजाने निर्णय गरेको निगम स्रोतले बताएको छ ।

२ सय ७४ सिट क्षमता भएको वाइडबडी विमान बुधबार राति काठमाडौंबाट उडेपछि करिब साढे ७ घण्टापछि ओशाका पुग्ने छ । जापानको बिहान साढे ११ बजे ओशाकामा अवतरणको समय छ । उक्त विमान बिहीबार साँझ ६ बजे काठमाडौं आइपुग्ने छ ।

ओशाकाबाट काठमाडौं आउने यात्रुको संख्या ७० सम्म पुग्ने भनिएको छ । निर्देशक दाहालले भनेका छन्–‘५० बढीले टिकट नै काटेका छन् हामीले ७० सम्म पुग्ने अनुमान गरेका छौं ।’ निगमले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान तालिका राखेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबारको उडान सकिएपछि अन्य उडानको यात्रु बुकिङ्ग वृद्धि हुने बताएका छन् । ‘पहिलो उडान भएपछि मात्रै हाम्रो बुकिङ्गको दर वृद्धि हुने देखिएको छ,’ उनले भने, ‘दसैं आसापासमा टिकट बुकिङ्ग अत्यधिक देखिएको छ ।’ निगमले एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । दसैंअघिसम्मका लागि यो प्रवद्र्धनात्मक भाडादर हो ।

निगमले दिएको जानकारी अनुसार वाइडबडी विमानमार्फत हुने काठमाडौं–ओशाका उडानमा प्रतिघण्टा कम्तीमा १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्ने छ । यसमा कम्तीमा ३५ प्रतिशत खर्च इन्धनको रहेको छ । पहिलो उडानलाई पर्यटनमन्त्री भट्टराईले ११ बजे राति विमानस्थलमा बिदाई गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्