ओम अस्पतालको लापरबाहीले बिरामीको मृत्यु
राजधानीको चावहिल स्थित ओम अस्पतालको लापरवाहीका कारण संखुवासभाकी एक महिलाको ज्यान गएको छ । अन्दाजी ५२ बर्षीया टंककुमारी न्यौपानेको उपचारका क्रममा विहिबार अपरान्ह ४ बजे मृत्यु भएको हो ।
उपचारका क्रममा लापरबाही भएर मृत्यु भएको भन्दै मृतकका आफन्त, गाउँले लगायत अस्पताल परिसरमा भेला भएका छन् । संभावित दुर्घटनालाई मध्यनजर गर्दे अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मृतक न्यौपानेलाई महिनावारीको समयमा अत्याधिक रक्तश्राव भएपछि गत असोज १३ गते ओम अस्पतालको सघन उपचारकक्षमा भर्ना गरिएको थियो । उनलाई चिकित्सकले बिहिबार अपरान्ह मृत घोषित गरेका थिए ।
अस्पताल प्रशासनले विरामीको पछिल्लो दुई दिनको रिपोर्ट नदिएको तथा मृत्युको कारण पनि नभनेको भन्दै पीडीतका आफन्त प्रशासन प्रति आक्रोशित बनेका हुन् । उनीहरुले सघन उपचार कक्षबाट मृतकलाई बाहिर निकाल्न दिएका छैनन् ।
डाक्टर जाहेश्वर गौतम नेतृत्वको टोली मृतक न्यौपानेको उपचारमा संलग्न थियो । समस्या समाधानका लागि अहिले पीडीतका आफन्त र अस्पताल प्रशासनबीच वार्ता चलिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्