खनाल भन्छन पार्टी छाडेँ, पार्टी भन्छ कारबाही
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा पार्टीको राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गर्नुभएको छ । शुक्रबार पाँच बुँदै विज्ञप्ती जारी गर्दै खनालले पार्टी परित्याग गरेको जानकारी गराउनुभएको हो ।
नयाँ शक्ति पार्टी पुरानै ढाँचामा चलेको र पूर्व माओवादी भित्रको पनि एउटा गुटको षडयन्त्रको अखडा बनेको आरोप लगाउनुभएको छ । केन्द्रीय परिषदमा मनोमानी रुपमा सदस्य थप्दै सात सय पु¥याएको भन्दै उहाँले संयोजक बाबुराम भट्टराईको चर्को आलोचना गर्नुभएको छ ।
खनालले विज्ञप्तीमा भन्नुभएको छ–‘पूर्व माओवादी भित्र पनि ०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सीमित व्यक्तिको मात्र कोर समुह बन्यो । खनालले पार्टी आर्थिक रुपमा अपारदर्शी र राजनीतिक रुपमा षडयन्त्र एवं चलखेलमा चलेको आरोप लगाउनु भएको छ ।
खनालले नेताको चरित्र र नियत नबदलिएकाले नयाँ शक्ति उँभो नलाग्ने निष्कर्ष निकाल्नुभएको छ । नयाँ शक्ति पार्टी १७९ वटा दलहरुको स्थानमा १८० औं दल मात्रै भएको खानालको आरोप छ । खनालले अब आफू स्वतन्त्र नागरिक भएर बस्ने बताउनुभएको छ ।
नयाँ शक्ति पार्टीले भने मुमारामलाई अनुशासनको कारवाही गरिएको बताएको छ । नयाँ शक्तिद्धारा जारी विज्ञप्तीमा खनालले पार्टी हित विपरीत काम गरेकाले शुक्रबार बसेको बैठकले अनुशासनको कारवाही गरेको बताईएको छ ।
भारतीय हस्तक्षेप विरुद्ध भद्रकालीमा धर्ना कार्यक्रम आयोजना गरिएकोमा खनालले पार्टी वैद्यको लाइनमा गयो भन्दै विरोध गरेको नयाँशक्ति नेपालको आरोप छ । त्यसैगरी नयाँ शक्तिमा प्रवेश गर्ने मानिसहरुलाई पार्टीमा नआऊ भन्दै रोकेको र पार्टी एवं नेताहरुको विरुद्ध षड्यन्त्र गर्दै हिँडेकाले खनाललाई निस्कासनको कारवाही गरिएको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्