हाईटीमा म्याथुको वितण्डा, मर्नेको संख्या ८ सय नाघ्यो
हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या आठ सय नाघेको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन । हाइटीको नागरिक सुरक्षा एजेन्सीले मृतकको संख्या बढेको जानकारी गराएको हो । मंगलबार हाइटीको दक्षिण पश्चिम क्षेत्र आँधी हुरीको चपेटामा परेको थियो ।
उक्त क्षेत्रको जेरभी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । त्यहाँ हजारौं मानिस घरबार बिहीन भएको बताईएको छ । दक्षिणी सुबे सुदमा तीस हजार घर तहसनहस भएका छन । म्याथ्थू आँधीका कारण हैटीमा राष्ट्रपति चुनाव समेत स्थगित गरिएको छ ।
तुफानका कारण प्रभावित सहरहरुसँग सम्पर्क पुर्ण रुपमा टूटेको छ । समुद्र वा हेलिकप्टरको मद्दतमा मात्र उक्त क्षेत्रमा पुग्न सम्भव भएको बीबीसीले जनाएको छ । राहतकर्मी विकट स्थानहरुमा राहत सामग्री लिएर पुग्दा सम्म मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघले म्याथ्थू आँधीले र्पुयाएको क्षतिको पूर्ण विवरण आउन अँझै केही दिन लाग्ने जनाएको छ । हाइटीबाट आँधी अमेरिकाको फ्लोरिडाको डेटोना समुद्री किनारा तर्फ १३ माइल प्रति घण्टाको रफ्तारमा अघि बढिरहेको अमेरिकी राष्ट्रीय केन्द्रले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्याथुले फ्लोरिडालाई खास क्षति नर्पुयाएको भएपति खतरा नटरेको बताएका छन । अमेरिकाको चार राज्यका दशौं लाख मानिसलाई आफ्ना घरबाट निस्किएर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । पाँच लाख भन्दा धेरै घरमा बिजुली काटिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्