सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ झुम्कावालीका संगितकारको रामकहानी

arjun-pokhrel-musician

साधारण लवाइ र हँसिलो मुहार । सबैसँग मिल्न सक्ने मिजासिला व्यक्ति । दुःख गर्न कञ्जुस्याइँ नगर्ने । जिज्ञासु स्वभाव, मिहिनेती एउटा मान्छे । मोटामोटी रूपमा भन्ने हो भने यिनै विशेषता अहिलेका व्यस्त संगीतकार अर्जुन पोखरेलका हुन ।

उनी संगीत सिर्जना गर्न मात्र व्यस्त छैनन। मिहिनेतको कदर स्वरूप मिल्ने अवार्ड लिन भ्याई नभ्याई पनि छ उनलाई । शुक्रबार मात्रै विन्धवासिनी म्युजिक अवार्ड पुगेर एउटा अवार्ड लिएर फर्किएका छन । गायक, गीतकार, संगीत संयोजनमा आफ्नो परिचय बनाउन सफल उनी अहिले विभिन्न चलचित्रमा संगीत भर्न व्यस्त छन ।

त्यतिबेला उनलाई लाग्दैन थियो, यहाँसम्म आइन्छ । यतिको सफलता मिल्छ । त्यतिवेला संगीत सम्बन्धी अध्ययन गर्दै गर्दा केही फरक खालको विचार आए पनि आफ्नो पाइला नेपाली गीत संगीत बजारमा अगाडि बढाउँदाका सुरुवाती चरणहरू पनि धेरै गाह्रो भएन ।

केही कम बोल्ने र काम प्रति एकदमै अनुशासित र धैर्य बनेर लाग्ने संगीतकार अर्जुन पोखरेलाई जब एकाएक व्यस्तताले पेल्दै गयो तब उनले सम्झिए–‘म उही अर्जुन पोखरेल हुँ त ?’ उनले यसरी आफूले आफैलाई प्रश्न सोध्नुको कारण अहिले पाएको लोकप्रियता र त्यतिवेलाको संघर्ष नै हो ।

अहिले संगीतकार पोखरेल एउटा कुरामा विश्वस्त छन, संघर्ष गर्ने हो मात्रै हो भने असम्भव केही छैन । अर्जुन पोखरेल अहिले नेपाली संगीत बजारका चलेका र लोकप्रिय संगीतकर्मीको रूपमा दरिएका छन । क्षमताले भ्याएसम्म काम अधिक राम्रो गर्नुपर्छ, कामलाई पूजा जस्तै सम्झिएर कुनै पनि ठगी गर्नुहुँदैन भन्ने लाग्छ उनलाई ।

उनले केही सफलताका सिँढीहरूमा चढ्दै गर्दाका कथाहरू संक्षिप्त रूपमा सुनाउँदै गए–‘सायद अर्जुन पोखरेल यहाँसम्म आउनु, यो सफलता पाउनु मेरो विगतको काम नै हो ।’ एकपटक आउने कोही ग्राहकलाई राम्रोसँग सन्तुष्ट बनाएर मात्रै पठाउन सकियो भने त्यो मान्छे सधै आफ्नो हुन्छ यदि भएन भने त्यो एकपटकका लागि मात्रै ग्राहक हुन पुग्छ भन्छन् संगीतकार पोखरेल ।

उनै संगीतकार अर्जुन पोखरेलले सातौं विन्धवासिनी अवार्ड अन्तर्गत चलचित्र ‘प्रेम गीत’बाट सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड हात पार्न सफल भए । अहिले प्रेम गीतबाट पाएको अवार्डसँगै केही वर्षअघि मात्रै रिलिज भएको चलचित्र ‘स्टुपिड मन’बाट पाएको अर्वाडसँग बराबरी भएको छ ।

त्यस्तै मेरो जीवनसाथीबाट ५ वटा, विन्दास चलचित्रबाट ४ वटा अवार्ड पाएका छन । संगीतकार पोखरेलले फिल्मी गीतमा मात्रै हैन आधुनिक, लोक पप लगायत अरू शैलीका गीतमा पनि संगीत भरेका छन् भने उत्तिकै सफल पनि छन । केही वर्ष पनि भएको छैन, प्रमोद खरेलको झुम्कावाली जुन उनले संगीत भरेका गीतहरूमध्ये हिट गीत हो ।

arjun-pokhrel-musician1संगीतकार पोखरेललाई तपाई के कुरामा अरूभन्दा फरक हुनुहुन्छ भनेर प्रश्न तेर्साउँदा उनले जवाफ दिए–‘अलिकति फरकपन र शैलीलाई भित्र्याएको छु कि भन्ने लाग्छ ।’ अहिलेसम्म एक हजारको हाराहारीका गीतमा संगीत भरिसकेका अर्जुन पोखरेलको दिनदिनै व्यस्तता बढ्दै गएको छ ।

अर्जुन पोखरेलले सुरुमा दिलमाया चलचित्रबाट संगीत यात्रा थालनी गरेका हुन् भने सर्वाधिक सिआरवीटी, पिआरवीटी र डाउलोड भएका गीतहरूमध्ये विन्दास चलचित्रको ‘छुट्छ की साथ, टुट्छ की नाता तिम्रो मेरो अब त’ हो ।

नेपाली गीतसंगीत क्षेत्रमा रहरसँगै त्यसै अनुसारको अध्ययन गरेर आउने केही कम कलाकारहरूको सूचीमा अर्जुन पोखरेलको नाम पनि छुट्दैन । इलाहावाद संगीत विश्वविद्यालयबाट पूर्वीय शास्त्रीय, नेपाल संगीत विद्यालयबाट पाश्चात्य र नेपाल ललितकला क्याम्पसबाट शास्त्रीय संगीत र नेपाली लोक संस्कृतिबारे अध्ययन गरे । उनले संगीत भर्नुका साथै संगीत अध्यापन पनि गर्छन ।

सुरुवातमा ठ्याक्कै यही बाटो ठिक हो कि हैन भन्ने अनुमान लगाउन सकेनन । यद्यपि रहर संगीतकार बन्ने थियो, त्यसैअनुसार आफ्नो काम बिकाउनका लागि उनले केही सिर्जना गर्ने अनि कलाकारहरूलाई सुनाउन तिर लागे । धेरै निर्माता निर्देशक तथा अरू कलाकारहरूलाई आफ्नो काम देखाए ।

संयोग, अर्जुन पोखरेलको भेट निर्देशक राजु गिरीसँग हुन पुग्यो । उनले चलचित्र दिलमायामा काम गर्ने अवसर दिए । दिलमायाको गीतमा दिईएको संगीतको स्वाद धेरैले मिठो मानेपछि संगीतकार पोखरेल सबैतिर छरिन थाले । त्यस दिनदेखि उनले काम नपाएको र फुर्सदमा दिन बिताएको रेकर्ड कमै छ ।

अर्जुन पोखरेल अहिले सर्वाधिक चर्चित संगीतकारको रूपमा चिनिन्छन । तर कमैलाई यो कुरा थाहा छ, उनी खासमा गायक बन्नका लागि काठमाडौं झरेका हुन । गायक बन्ने सपना बोकेर राजधानी पुगेका उनी संगीतकार बन्न पुगे । संगीतकार पोखरेल २०५५ सालतिर एसएलसी दिएर संगीत पढ्न काठमाडौं छिरे ।

सानैबाट गीतसंगीतमा रुचि राख्ने उनी सुरुमा वाचनशिरोमणि (स्वर्गीय) नारायणप्रसाद पोखरेलसँग भजन गाउन पनि हिँडे । पछि राजधानीको आरआर क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भए । उक्त तहको पढाइ सकाए । यही समयमा उनलाई नसाको समस्या देखा प¥यो । ब्रेनको समस्या भएको भन्दै शल्यक्रिया गर्नुपर्ने सल्लाह सबैतिरबाट आउन थाल्यो ।

संगीतको नसामा डुबिसकेका उनी सफल हुन नसक्दा ‘फ्रस्टेड’ थिए । बिरामी भएपछि सबै अस्पताल चहारे । घरमा आराम गर्नुपर्ने सल्लाह चिकित्सकबाट पाए । ‘मेरो आमाको अर्को छोरो भएको भए म आज सायद जोगी हुन्थेँ होला,’ उनले भने– ‘फ्रस्टेड भएर केही गर्न मन थिएन, घरपरिवारको साथ सहयोगले गर्दा आज यो पेसामा व्यस्त हुन पाएको छु ।’

२०६४ सालबाट स्वास्थ्यमा सुधार भयो । उनले बिरामी हुँदै २०६१ सालमा आफ्नै शब्द संगीतमा ‘सानी मोरी मलाई मन प¥यो ..’ लोकदोहोरी गीत सार्वजनिक गरेका थिए । त्यस बेला उनले स्थानीय लोकदोहोरी गायकका रूपमा कालिका अवार्ड पाए ।

उनको सक्रियता सांगीतिक क्षेत्रमा थप बढ्दै गयो । गायक बन्ने ठुलो सपना बोकेर काठमाडौं छिरेका पोखरेललाई अहिले आएर गायक भन्दा यतैबाट ठुलो सफलता पाइँदोरहेछ भन्ने लागेको छ ।

उनले संगीत भरेका गीतहरूमध्ये ‘बाटो मोडेर गयौ’ सर्वाधिक लोकप्रिय गीतमध्ये मानिन्छ । आफ्नो काममा सफलता हात पार्दै गएपछि थप मिहिनेत गर्ने जोस बढ्दै गएको हो भन्छन् पोखरेल ।

संगीतकार पोखरेलले काम गरेको ‘ठमेल डटकम’ को ‘सुखले दिन ढल्दैन’ गीतको चर्चा पनि उत्तिकै छ । जुन गीत उनले गाएका हुन । संगीत दिएको झण्डै एक दर्जनको हाराहारीमा फिल्म प्रदर्शनको तयारीमा छन । उनको चर्चा फिल्मी क्षेत्रमा मात्र छैन । दोहोरी र आधुनिक गीतमा पनि उस्तै छ ।

मञ्जु पौडेल र रामजी खाँडले गाएको ‘तिमी लाइटर’ बोलको गीतमा उनले संगीत दिएका हुन । ‘धेरैलाई बाँड्दा’ र ‘आफ्नै जिन्दगी’ गीतमा पनि संगीत भर्ने काम उनैले गरे ।

‘सांगीतिक क्षेत्रमा पाएको र गुमाएको लेखाजोखा छैन’ उनले भने, ‘ठूलो कुरा आत्मसन्तुष्टि हो, त्यही आत्मसन्तुष्टिले गुमाएको सबै कुरा पाएको छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्