सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाकिस्तान र नेपाल टुक्र्याउने गेम प्लानका समानता

पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्नुभन्दा पहिले सेख मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ६ बुँदे एजेण्डा लिएर अभियान सुरु भएको थियो । हाल नेपालको तराईलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता सीके राउतले पनि रहमानकै शैलीमा समान किसिमका ८ बुँदे एजेण्डा नै तयार पारेर अभियान अघि बढाइरहेका छन् ।

राउतको हालको भूमिका र त्यतिबेला रहमानको भूमिका, तत्कालीन अवस्थामा उनलाई भारत सरकार र रअको सहयोग तथा हाल राउतलाई भारत सरकारले स्वागत गर्नु, रअका अधिकारीसँग उनको सम्बन्ध भएको खुलासा हुनुले राउत पनि रहमानकै शैलीमा बीजारोपण गरिएका विषालु पात्र हुन् भन्ने पुष्टि हुन्छ ।

यो हो पूर्वी पाकिस्तानको वास्तविकता
भारतबाट पाकिस्तान अलग्गिएपछि पाकिस्तान पूर्वी र पश्चिमी पाकिस्तानमा विभक्त भएको थियो । पूर्वी पाकिस्तानमा विशेष गरी बंगाली मुस्लिमहरुको बाहुल्य रहेको थियो । पूर्वी पाकिस्तानीहरुको नजरमा पश्चिमी पाकिस्तानीहरु शासक जस्तै थिए ।

बंगालीहरुले हालको पाकिस्तानले आफूहरुमाथि विभेद गरेको, समान अवसरबाट वञ्चित गरेको, एउटै मुलुकभित्र पनि दुई किसिमको व्यवहार गरेको लगायतका आरोपहरु लगाउँदै आएका थिए । भर्खर आफूबाट फुटेर पाकिस्तान बनेको कुरा भारतलाई मन परेको थिएन ।

अर्काेतर्फ पूर्वी पाकिस्तानसँग भारतको अधिकांश भूभाग जोडिएको थियो । त्यसैले भारतले पूर्वी पाकिस्तानलाई फुटाउने ‘गेम प्लान’ सुरु गरेको हो । स्वभाविक रुपमा पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तानको तुलनामा कम विकसित, अवसरबाट वञ्चित र केही विभेद पनि थियो ।

त्यही कमजोरीलाई अवसरमा बदल्दै भारतले शेख मुजिबुर रहमानलाई स्वतन्त्र पूर्वी पाकिस्तानका लागि उक्साएको थियो । पछि भारतकै सहयोगमा रहमानले पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउन सफल भएका थिए । यस विषयमा आर के यादवको ‘मिसन रअ’मा विस्तृत उल्लेख गरिएको छ ।

पूर्वी पाकिस्तान, शेख मुजिबुर रहमान र भारतिय गेम प्लान
सन् १९२० मा बंगालमा जन्मिएका शेख मुजिबुर रहमान पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका थिए । पूर्वी पाकिस्तानमा उनको प्रभाव बढ्दै गएपछि भारतले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गर्नका लागि ठूलो योजना बनायो ।

पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबीच विवाद बढ्दै गएपछि समस्या समाधानका लागि भन्दै रहमानले सन् १९६६ मा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उनले पाकिस्तान समस्या हल गर्न भन्दै ती ६ बुँदा सार्वजनिक गरे पनि उनको उद्देश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउनु नै थियो ।

रहमानले सन् १९७० मा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ‘अवामी लिग’को स्थापना गरी १९७० मा नै अवामी लिगको नेतृत्वमा निर्वाचन लडेका थिए । अवामी लिग स्वतन्त्र पाकिस्तानका लागि तयार पारिएको एउटा ‘दस्ता’ थियो ।

त्यसले प्राप्त गरेको निर्वाचन परिणाम मुलुकको हितमा नभएको भन्दै पाकिस्तानले अस्वीकार गरेपछि पाकिस्तानमा विद्रोह भएको थियो । विद्रोह नियन्त्रणका लागि पाकिस्तानले ‘अप्रेशन सर्चलाइट’ सुरु गरेको थियो ।

भारत सरकारको सहयोग र समर्थन भएकाले रहमानलाई पाकिस्तानले सुरु गरेको ‘सर्चलाइट अप्रेशन’ले खासै असर गरेन । भारतले पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि आफ्ना सुरक्षा निकाय तथा गुप्तचरहरुको सहभागितामा ‘मुक्तिबाहिनी सेना’ तयार पारिसकेको थियो ।

जसले गर्दा पाकिस्तानले चाहेर पनि पूर्वी पाकिस्तानलाई सँगै राख्न सकेन । अन्तत; २६ मार्च १९७१ मा पाकिस्तान टुक्रियो । पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि बाहिर रहमानको भूमिका देखिए पनि उनले ल्याएका ६ बुँदे प्रस्ताव तथा सैन्य सहयोगसमेत भारतले नै तयार पारेको खुलासा भारत आफैले गरेको छ ।

रहमानले पूर्वी पाकिस्तान स्वतन्त्र बनाउन ल्याएका ६ बुँदाहरु भारतको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले ड्राफ्ट गरेको रअका पूर्व उच्च अधिकारी आरके यादवले ‘मिसन रअ’को पेज १९५ मा खुलासा गरिदिएका छन् ।

यादवले लेखेको उक्त पुस्तकमा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन अस्तित्वमा आएको अवामी लिग नै पछि ‘मुक्तिबाहिनी’को रुपमा देखापरेको र मुक्तिबाहिनी भारतीय गुप्तचर संस्था रअका संस्थापक आर एन काओको अवधारणा भएको समेत उनले उल्लेख गरेका छन् ।

‘मिसन रअ’को पेज नम्बर २३० मा ‘पूर्वी पाकिस्तान टुक्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुक्तिबाहिनी काओकै अवधारणा हो’ भन्ने शीर्षक दिएर त्यसमा उनको र रअको भूमिकाको बारेमा लामो चर्चा गरिएको छ । साथै पाकिस्तान टुक्र्याउन भारतले खेलेको भूमिकाको बारेमा उक्त पुस्तकले तथ्यमा आधारित रहेर घटनाक्रमलाई उल्लेख गरेको छ ।

पाकिस्तान टुक्र्याउने बाहिरी पात्रका रुपमा रहमानलाई प्रयोग गरे पनि पाकिस्तान भारतकै योजनामा टुक्र्याइएको विषयलाई भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ जुन २०१५ मा बंगलादेशको ढाका विश्वविद्यालयमा गरेको सम्बोधनमा समेत पुष्टि गरेका छन् ।

‘आफूहरुले कसरी सहजै पाकिस्तानलाई टुक्र्याइदिएर बंगलादेश बनाइदिएको’ भन्दै मोदीले गर्व व्यक्त गरेका थिए । यसरी एउटा पात्रको सिर्जना गरेर भारत पाकिस्तानलाई टुक्र्याउन सफल बनेको थियो ।

यस्ता छन् पाकिस्तान टुक्र्याउने रहमानका ६ बुँदे प्रस्ताव;
१. संविधानले लाहोर संकल्पअनुसार संघीय पाकिस्तानको व्यवस्था गर्नुपर्ने, सोही मान्यताका आधारमा संसदीय व्यवस्थाका आधारमा बन्ने सरकारमा मताधिकारको विश्वव्यापी मान्यताअनुसार विधायक सिधै चुनिन पाउनु पर्ने,
२. संघीय सरकारले दुई विषय मात्र हेर्न पाउने, रक्षा र परराष्ट्रबाहेक अन्य विषयको अधिकार संघीय राज्यमा निहित हुनुपर्ने,
३. पूर्वी र पश्चिम पाकिस्तानका लागि छुट्टा छुट्टै मुद्राको व्यवस्था हुनुपर्ने, यदि त्यो सम्भव नभएमा पूरै मुलुकका लागि एउटै मुद्राको व्यवस्था गर्ने, तर पश्चिम पाकिस्तानको राजधानीबाट पूर्वी पाकिस्तानमा उडान गर्न नपाउने प्रभावकारी संवैधानिक व्यवस्था हुनुपर्ने । र यसबाहेक पूर्वी पाकिस्तानका लागि छुट्टै बैंकिङ रिजर्व स्थापना हुनुपर्ने, छुट्टै आर्थिक तथा मौद्रिक नीति अपनाउन पाउनु पर्ने ।
४. राजस्व तथा कर संकलनको अधिकार संघीय इकाइहरुमा निहित हुनुपर्ने, केन्द्र सरकारलाई त्यसको अधिकार नदिने, संघले व्ययभार पूरा गर्न राज्यको करमा भने दाबी गर्न पाउने ।
५. विदेशी मुद्रा आर्जनका लागि दुई राज्यको छुट्टै एकाउन्ट हुनुपर्ने, संघीय सरकारले दुवै राज्यका लागि एक अनुपातमा वा समान रुपले विदेशी मुद्राको व्यवस्था गर्नुपर्ने, आदिवासीहरुद्वारा उत्पादित वस्तुहरुमा दुई राज्यका बीचमा कर लगाउन नपाइने र संविधानले विदेशी मुलुकसँग व्यापार सम्बन्ध बनाउन टेवा र्पुयाउनु पर्ने ।
६. पूर्वी पाकिस्तानका लागि छुट्टै सैन्य तथा अर्धसैन्य दस्ता र नेभि मुख्यालयको व्यवस्था हुनुपर्ने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्