सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिनेका तस्कर समाउन नसक्ने बन्लान आईजीपी ?

पुस २१ गते त्रिभुवन विमानस्थलमा ३४ किलो सुन समातिँदा निकै उत्साहीत बनेका सीआइबी प्रमुख डीआइजी नवराज सिलवाललाई अहिले त्यही सुनकाण्डले निदहराम गरिदिएको छ । भावि आइजीपीका लागि निकै ठूलो ‘प्लस प्वाइन्ट’ हुन सक्ने ठानिएको सुनकाण्डका तस्करको वयानका कारण डीआईजी सिलवाललाई तनाव भएको हो ।

युइएईबाट सुन ल्याउने तस्करले सुन ओसार्न लगाएका भरियाले दिएको वयानमा त्यस्ता व्यक्तिको नाम पोलेका छन, जसलाई समाउने हिम्मत नवराज सिलवालको त के, कुनै प्रहरी अधिकारीको छैन भन्दा हुन्छ । प्रहरी स्रोतका अनुसार तस्करले विमानस्थलमा पटक–पटक लगेजभित्र हेलिकोप्टरका पार्टपूर्जा रहेको बताउँदै सुन ओसार्ने गरेको वयान दिएका छन ।

यसबाट कहीँ न कहीँ हेलिकोप्टर व्यवसाय र सुन तस्करीवीच अन्तरसम्बन्ध रहेको अनुमान सजिलै लगाउन सकिन्छ । तर, सुनसहित पक्राउ परेका भरियाले दिएको बयानले भने आइजीपी बन्ने होडमा रहेका प्रहरी अधिकारीहरुलाई तर्साइदिएको छ ।

यसअघि ठूला नेताहरुसँग नजोडिएका अपराधमाथि कारबाही गरी नाम कमाउँदै आएका सिलवाल ३४ किलो सुनकाण्डमा यस्तो फसादमा परेका छन् कि उनी तस्करहरुलाई चिनेर पनि केही गर्न नसक्ने स्थितिमा छन । आइजीपी बन्ने दौडमा रहेका उनका लागि यो घटना एउटा गम्भीर परीक्षा बन्न पुगेको छ ।

उच्च प्रहरी अधिकारीका अनुसार पक्राउ परेका भरियाले वयानमा उच्च राजनीतिक पहुँचवाला व्यक्तिको नाम लिएका छन । सुनकाण्डमा संलग्न व्यक्तिको विगतमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग भएकाले संरक्षित हुँदै आएका थिए ।

लोकमानको बहिर्गमनपछि पनि तस्करको पहुँच उच्च तहका नेताहरुसँग भएको खुलेको छ । अर्थमन्त्री महराले मिडियासँग ‘म त भुरा मात्रै हुँ’ भनेको कुराले पनि तस्करको पहुँच कुन लेभलसम्म रहेछ भन्ने प्रस्ट हुन्छ । सुन तस्करी गर्ने ती ‘पावरफूल व्यक्ति’ को हुन् भन्ने डीआइजी नवराज सिलवाललाई राम्रोसँग थाहा भएको स्रोतले बताएको छ ।

त्यसकारण डीआइजी सिलवालले आगामी दिनमा प्रहरी संगठन हाँक्न सक्छन सक्दैनन भन्ने कुरा ३४ किलो सुन काण्डमा उनले बहादुरी देखाउन सक्छन् या सक्दैनन् भन्ने कुराले प्रस्ट हुने उच्च प्रहरी अधिकारीहरुले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्