सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन्दै अचम्म ! कुखुराको भालेको बन्ध्याकरण ?

कृष्ण दर्नाल । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । किन कि, पाल्पा, रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन ।

कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ ।

भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन ।

पन्तको पशुपन्छी सम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताउँछन । सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ ।

कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ। ब्वोयलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ ।

नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो ।

पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रिया मार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्