मेक्सिकन राष्ट्रपतिलाई अमेरीका नआउन चेतावनी
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पद सम्हालेको एक हप्ता पनि पुगेको छैन तर एउटा पर्खाललाई लिएर अमेरिका र छिमेकी राष्ट्र मेक्सिकोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।
बिहिबार ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले दुई देशको सीमामा बन्ने पर्खालको निर्माण खर्च तिर्न नमाने यो महिनाको अन्त्यमा हुने भनिएको मेक्सिकोका राष्ट्रपतिसँगको भेटघाट रद्द गर्ने चेतावनी दिएका छन् ।
मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले बुधबार पुनः आफ्नो देशले उक्त पर्खालको निर्माणका लागि रकम नतिर्ने दोहोराएपछि ट्रम्पले कडा प्रतिक्रिया जनाएका हुन् ।
दुई नेताबीच जनवारी ३१ मा ह्वाइट हाउसमा छलफल तय भएको थियो । ट्रम्पले ट्वीटमा भनेका छन–‘यदी अति आवश्यक रहेको पर्खालका लागि मेक्सिकोले पैसा तिर्न चाहाँदैन भने आगामी भेटघाट रद्द गरेको राम्रो ।’
यस ट्वीटको ठीक अघि उनले मेक्सिको र अमेरिका बीचको व्यापार घाटा र नाफ्टाका कारण अमेरिकीहरुले रोजगारी गुमाइरहेको कुरा उल्लेख गरेका थिए ।
बुधबार राती पेना निएटोले आफ्नो भ्रमण रद्द गर्नुपर्ने कुनै कारण नरहेको बताए पनि आफ्नो देशले पर्खालका लागि पैसा नतिर्ने दोहोराएका थिए ।
मेक्सिकन राष्ट्रपति निएटोले भिडियो वक्तव्य जारी गर्दै भनेका छन–‘मेक्सिको पर्खालमा विश्वास गर्दैन । मैले पटक पटक भनेको छु, मेक्सिकोले पर्खालका लागि पैसा तिर्ने छैन ।’
हुनतः दुई नेताबीच ट्रम्पको चुनावी प्रचारका दौरान नै वादप्रतिवाद शुरु भइसकेको थियो । चुनावी अभियानका दौरान अमेरिका छिर्ने मेक्सिकनलाई अपराधी र बलत्कारी भनेपछि शुरु भएको विवाद अभियान भरी नै चल्यो ।
बुधबार ट्रम्पले पर्खाल निर्माण गर्ने कार्यकारी निर्णय गरेपछि पछिल्लो २४ घण्टा यो विवाद पुनः बल्झिएको छ । रोचक कुरा मेक्सिकोबाट उच्चस्तरीय टोलीले ह्वाइट हाउसको भ्रमण गरिरहेको बेला उनले सो निर्णय लिएका थिए ।
ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिका आउने मेक्सिकन टोली पहिलो विदेशी प्रतिनिधि थिए । उनीहरु राष्ट्रपति भ्रमणको तयारीमा त्यहाँ पुगेका थिए ।
ट्रम्पको पछिल्लो प्रतिक्रियापछि मेक्सिकोका राष्ट्रपतिले वासिङटनमा रहेका उच्च अधिकारीसँग छलफल पछि अमेरिकाको भ्रमणबारे निर्णय लिने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्