मध्यरातमा श्रीमतीको हत्या, अर्कैको गर्भ बोकेको शंका
धनगढी उपमहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । झण्डै तीन महिनाको प्रेम सम्वन्ध पछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरेका थिए ।
जुगेडाका हिक्मत र अञ्जली प्रेममा रहेका आफ्ना साथीहरु मार्फत नजिकिएका थिए तर, जसलाई अञ्जलीले आफ्नो बनाइन, उनैले अञ्जलीको ज्यान लिएका छन् ।
शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेकी थिईन । अञ्जलीले बिहे अघि पढाइ छाडिसकेकी थिइन् ।
हिक्मत लागू औषध सेवन गरेको भेटिएपछि नेपाली सेनामा भर्ती भई ८ महिना तालिम गरेपछि निकालिएका थिए । भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन तर, कुराकानी भने भईरहेको थियो ।
हिक्मत र अञ्जली भने परिवारसँग छुट्टिसकेका थिए । हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुको परिवार ठीकै चलिरहेको थियो तर, अञ्जलीको माहिनावारी नियमित नभएको विषयलाई लिएर विवाद सुरु भयो ।
अञ्जलीले आफ्नो ४÷५ महिनामा एक पटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जली माथि शंका गर्न थाले । उनले अरु कसैको गर्भ बोकेर आफूलाई धोका दिएको महशुष गर्न थाले ।
अनुसन्धानमा खटिएका डीएसपी वीरबहादुर बुढामगरका अनुसार हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन् । हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो । उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए ।
आफ्ना दुई साथीहरु रोजगारीका लागि भारत जाने भएकाले उनी गौरिफान्टासम्म पुर्याउन गए । फर्किँदा घर नजिकैको भट्टीमा ११ बजेसम्म बसेर मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे ।
घर नजिक पुगेपछि उनले गाँजा खाए र घर गएर राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे । उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए ।
हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे । घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले ।
उनले पनि हत्याबारे कसैलाई शंका नहोस् भनेर खोजी गरे झैँ गरिरहे । परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माईतीबाट ठूलो बुवाका छोरा आए र हिक्मतकै साथी भएकाले मिलेर सँगै खोजे ।
अञ्जली नभेटिएपछि माइती पक्षले केटामाथी शंका गर्दै प्रहरीमा उजुरी गरे । प्रहरीले हिक्मतलाई पक्राउ गर्यो । प्रहरीले उनको घर परिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उत्खनन गरेर हेर्दा अञ्जलीको शव भेटियो । हिक्मतले हत्या गरेको स्वीकार गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्