सिके राउत बिरुद्ध कडा रुपमा उत्रियो एमाले
प्रमुख विपक्षी दल नेकपा एमालेले तराई मधेसमा अतिवादी गतिविधि बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले सीके राउतको नामै लिएर विखण्डनकारीमाथि कडा कारवाही गर्न समेत सरकारसँग माग गरेको छ ।
बिहीबार सकिएको एमाले पोलिट ब्यूरोको दुई दिने बैठकमा सीके राउतको गवितिधिबारे छलफल भएको हो । बैठकपछि सचिव योगेश भट्टराईले भने–‘सीके राउत प्रवृत्ति र त्यसलाई मलजल गर्ने शक्तिहरुबारे गम्भीर छलफल भएको छ ।’
एमालेले सामाजिक सुधार तथा विकासका कार्यक्रमहरु लिएर राज्य तराई मधेसमा जानुपर्ने र प्रमुख दलहरुले त्यहाँ आफ्नो गतिविधि बढाउनु पर्नेमा जोड दिएको छ । तर, एमालेले आफूलाई मधेसमा जान नदिने प्रयास भइरहेको भन्दै असन्तुष्टि समेत जनाएको छ ।
मधेसी मोर्चाले पछिल्लो समय एमालेका कार्यक्रममा अवरोधको प्रयास गरेको छ । यसले पनि अतिवादलाई प्रशय दिएको एमाले बैठकको निष्कर्ष छ । एमाले सचिव भट्टराईले भने–‘अर्को बाटो भनेको विखण्डनवादलाई राज्यले पनि नियन्त्रण गर्नुपर्छ, राज्य संयन्त्र मूखदर्शक बनेर बस्नु हुँदैन ।’
त्यसैगरी एमालेले तीनवटै चुनावको मिति छिटो घोषणा गर्न सरकारसँग माग गरेको छ । साथै उसले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्नसमेत माग गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्