मधेस फेरी अशान्त, बामदेव बसेको घरमा ढुंगामुढा
जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले एमाले उपाध्यक्ष बामदेव गौतम बसेको एमाले नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । ढुङगामुढा गर्दा महासेठको घरको झयालको शिशा फुटेको छ ।
मोर्चाका कार्यकर्ताले महासेठको घरमा तोडफोड गरेपछी प्रहरी परिचालन गरी तनावग्रस्त स्थितिलाई तत्कालै साम्य पारीएको छ । मोर्चाका कार्यकर्ताले एमाले नेता रघुविर महासेठको घरलाई लक्षित गरी मोटरसाइकल र्याली निकाल्न खोजेपछी बिबाद भएको बताईएको छ ।
स्थानीय निकायको चुनाव घोषणा विरुद्ध मधेसी मोर्चाले मधेस बन्दको आहृवान गरेको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार झडपका क्रममा राजु साह र कुलदीप साह घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले स्थानीय निकायको निर्वाचको मिति घोषणा गरे लगत्तै मधेश फेरि अशान्त बनेको छ । २०७३ असोज ३ गते संविधान जारी भएपछी मधेशी मोर्चाले असहमति जनाउँदै ६ महिना आन्दोलन गरेका थिए । प्रचण्ड प्रधानमन्त्री बनेसँगै ‘सरकारले संविधान संशोधन गर्ने आश्वासन’ दिएपछि मधेसी मोर्चाले आन्दोलन टुंग्याएका थिए ।
त्योभन्दा अघि तत्कालिन प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला सीमा नाकामा गरिएको अवरोध फिर्ता लिइएको थियो । त्यस यता मधेस शान्त रहँदै आएकोमा झण्डै एक वर्षपछि मधेसमा कडा खालको बन्दको कार्यक्रम भएको यो पहिलो पटक हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्