स्थानीय चुनावमा बुथ क्याप्चर भए सेनाको हस्तक्षेप
बुथ क्याप्चर, झडप जस्ता घटना भएमा सेनाले हस्तक्षेत्रप गर्ने अधिकार सहित आगामी स्थानीय तहको निर्वाचनमा नेपाली सेनाले अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिरी घेराको जिम्मा नेपाली सेनालाई दिने बारे छलफल अगाडि बढाएको हो ।
निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने र उच्च सुरक्षा व्यवस्था मार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेनाको समेत सहयोग लिन लागिएको हो ।
अहिलेसम्मको गृहकार्य अनुसार नेपाली सेनालाई मतदान केन्द्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरि सुरक्षा रणनीति प्रस्ताव गरिएको छ । रक्षा स्रोतका अनुसार मतदान केन्द्रको करिब साँढे दुइ किलोमिटरको दुरीबाटै सेनाले सुरक्षा दिनेछ ।
मतदान केन्द्र बाहिर दोस्रो घेराको सुरक्षा सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ । यस्तै निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार पसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा लिनेछन ।
दुवै प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ । यस्तै मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा नेपाली सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुन सक्नेछ र, पुन; मतदान प्रक्रिया शुरु भएमा सेना पछि हट्नेछ ।
त्यसरी असामान्य अवस्थामा सेना मतदान केन्द्रसम्म जान भने प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगको अनुमति चाहिनेछ । अधिकार प्राप्त अधिकारीको निर्देशनबिना सेनाले गस्ती बाहेक कुनै कारबाही गर्न नसक्ने प्रारम्भिक प्रस्ताव छ ।
यसैगरी निर्वाचन आयोगले अत्यावश्यक सामाग्री ढुवानी, मतपत्र सुरक्षाको सबै जिम्मेवारी भने नेपाली सेनालाई नै दिने इच्छा देखाएको छ । निर्वाचनको पूर्ण सुरक्षाका लागि आयोगले त्यस्तो इच्छा देखाएको हो ।
अहिले गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षा घेराबारे गृहकार्य भइरहेको छ । अन्तिम टुंगो भने लागिसकेको छैन । सबै विषय प्रारम्भिक छलफलको चरणमा रहेको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्