सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सानोठिमी क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

स्ववियु निर्वाचन हुन केही दिन बाँकी हुँदा भक्तपुरस्थित सानोठिमीका क्याम्पस प्रमुखको कार्यकक्षमा गएराति आगजनी भएको छ । आगलागीबाट क्याम्पस प्रमुखसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताएका छन् ।

राजधानीसहित देशका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचन प्रभावित भएको भएपनि उक्त क्याम्पसमा भने बुधबार निर्वाचन हुँदैछ । आगलागी भएपनि निर्वाचनसँग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले भोलिको स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिएका छन ।

गएराति करिब एक बजेतीर क्याम्पसमा प्रवेश गरी प्रशासन लगायत क्याम्पस प्रमुखको कार्यकक्षमा समेत आगजनी गरिएको विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एकराज डाँगीले बताएका छन । भोली हुने स्ववियु निर्वाचनमा पराजित हुने डरले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलले आगजनी गरेको डाँगीले दावी गरेका छन ।

डाँगीले भने–‘यसमा नेविसंघको असन्तुष्ट पक्ष र अखिल क्रान्तिकारीको हात छ भन्ने हाम्रो दावी हो । उनिहरुको प्यानलले एकै पटकमा जर्बजस्ती एकसय पचास जना विद्यार्थी फोटो बिना नै भर्ना गरे । तर हाम्रो भोट बढी आउने आशंका भएपछी आगजनी गरेका हुन सक्छन ।’

उता प्रचण्ड निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रामप्रसाद ढकालले पनि आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आगजनी गरेको आरोप लगाएका छन । तर, एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्याम सुन्दर बस्नेतले अनेरास्ववियु र सिंगो एमालेको बदनाम गर्न खोजिएको भन्दै उक्त आरोपको खण्डन गरेका छन ।

सोमबार विप्लव निकट विद्यार्थी संगठनले अनेरास्ववियुसंग प्यानल बनाएको घोषणासहित नामावली फिर्ता लिन खोज्दा अखिल क्रान्तिकारीको प्यानलले त्यसमा अवरोध गर्ने प्रयास गरेको थियो । सानोठिमी क्याम्पसमा अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानल छ भने नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अर्को प्यानल बनेको छ ।

आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न नसकेको भएपनि विद्यार्थी संगठनहरुले एक अर्कालाई घटनामा दोषी देखाउन खोजेका छन् । यता महानगरिय प्रहरी वृत ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले आगो लागेको हो वा लगाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्