किमले दिए विमान खसाल्ने बन्दुकले मृत्युदण्ड
उत्तर कोरियाले आफ्ना ५ सुरक्षा अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुकको प्रयोग गरेर मृत्युदण्ड दिएको दक्षिण कोरियाली विधायकहरुले दाबी गरेका छन् ।
दक्षिण कोरियाको गुप्तचर संस्था एनआइएसको रिपोर्टलाई उद्धृत गर्दै दुई विधायकहरुले उपमन्त्री तहका अधिकारीहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेका हुन् ।
उनीहरुले हालै बर्खास्त गरिएका राज्यका सुरक्षा प्रमुख किम वोन होङको नेतृत्वमा काम गरेको बताइएको छ । वोनमाथि नेता किम जोङ उनलाई गलत सूचना दिएको आरोप छ ।
दक्षिण कोरियाली सांसद किम ब्युङ किले भने–‘किम वोन होङ हाल नजरबन्दमा रहेका छन् भने उनीसँग काम गर्ने पाँच जना उपमन्त्री तहका अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुक प्रयोग गरेर हत्या गरिएको छ ।’
उनले थपेका छन–‘यसबारे छानविन जारी रहेको कारण अन्य अधिकारीहरुलाई पनि मृत्युदण्ड दिने अझै सम्भावना रहेको छ ।’ उत्तर कोरियाको राज्य सुरक्षा मन्त्रालय त्यहाँको गुप्तचर संस्था हो । जसले पार्टीका कार्यकर्ताहरु तथा जनतामाथि नजर राख्नुका साथै प्रिजन क्याम्पहरु संचालन गर्ने गरेको छ ।
आफूलाई गलत सूचना दिएको कारण क्रुद्ध बनेका किमले गत जनवरीमा आफ्ना उच्च अधिकारीहरु मध्ये एक होङलाई बर्खास्त गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्