सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्ववियु निर्वाचन आज, कुन क्याम्पसमा के हुँदैछ ?

अनेक विवादका बीच राजधानीसहित देशका विभिन्न क्याम्पसहरुमा आज स्ववियू चुनाव भइरहेको छ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी, एमाले निकटको अखिल र नेपाली कांग्रेस निकटको नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २२ ओटा क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन भइरहेको हो ।

जानकारीमा आएअनुसार भक्तपुरका दुईवटा क्याम्पसमा स्ववियु चुनाव भएको छ । भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी र सानोठिमी क्याम्पस थिमीमा बिहानैदेखि मतदान चलिरहेको छ । भक्तपुरबाहेक आजै पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, काठमाडौं नर्सिङ क्याम्पसमा पनि मतदान भइरहेको छ ।

काठमाडौंका धेरै विद्यार्थी रहेका क्याम्पसहरु शंकरदेव, त्रिचन्द्र, नेपाल कमर्स, रत्न राज्यलक्ष्मी, त्रिवि केन्द्रीय क्याम्पस लगायतका क्याम्पसमा भने विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण आज तोकिएको स्ववियु चुनाव रोकिएको छ । जनप्रशासन क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुले मंगलबार बेलुकी तालाबन्दी गरेकोले मतदान रोकिएको छ ।

पुर्वका १४ जिल्लाका ५९ मध्ये ४२ क्याम्पसमा मतदान
पूर्वी नेपालका १४ जिल्लामा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भइरहेको छ । १ नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्लाका ५९ क्याम्पसमध्ये ४२ क्याम्पसमा बिहान ९ बजेबाट मतदान शुरु भएको हो । बिभिन्न १७ वटा क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेको छैन ।

पूर्वाञ्चलकै ठूलो क्याम्पस मानिने महेन्द्र मोरङ, स्नातकोत्तर क्याम्पस विराटनगर र कोशी नर्सिङ क्याम्पसमा भने मधेसी मोर्चा आबद्ध विद्यार्थीहरुको तालाबन्दीका कारण चुनाव हुन सकेको छैन । अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य भाष्कर खनालका अनुसार विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा निर्वाचन रोकिन पुगेको हो ।

केही क्याम्पसमा भने केहिदिन पछी निर्वाचन गर्ने तयारी छ । झापाका ९ मध्ये ७ क्याम्पसमा निर्वाचन भइरहेको छ । इलाममा सामुदायिक क्याम्पसमा सहमतिमा नेतृत्व चयन हुने भनिए पनि २ वटै आंगीक क्याम्पसमा निर्वाचन हुन सकेन । ताप्लेजुङका दुईवटै क्याम्पसमा निर्वाचन भइरहेको छ । यस्तै तेह्रथुमका तीनवटै र पाँचथरका ३ मध्ये २ वटा क्याम्पसमा निर्वाचन भइरहेको छ ।

यस्तै मोरङका ११ मध्ये ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ भने एउटा क्याम्पसमा २४ गते निर्वाचन हुने भएको छ । बाँकी ६ वटा क्याम्पसमा निर्वाचन रोकिएका छन् । जसमध्ये दुईवटा क्याम्पसमा पहिलोपटक हुन लागेको निर्वाचन पनि सहमति कायम हुन नसक्दा नहुने भएको हो ।

सुनसरीका ९ मध्ये ८ वटा क्याम्पसमा निर्वाचन भएका छन् । जसमध्ये एउटा क्याम्पसको परिणाम समेत आइसकेको छ । धनकुटाका चार मध्ये २, संखुवासभाका ३ मध्ये २ वटा क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ । भोजपुरमा रहेको एउटा क्याम्पसमा भने निर्वाचन हुन सकेन ।

उदयपुरका तीन वटा, ओखलढुङ्गाका ४ वटा, खोटाङका २ वटा र सोलुखुम्बुका ३ वटै क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको छ । उता खोटाङ बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुकी सन्तोषी फुयालको नेतृत्वमा सर्वसम्मत रुपमा स्ववियु निर्वाचन भएको छ । त्यस्तै खोटाङकै सिमपानी क्याम्पसमा रोशन पोखरेल नेतृत्वको अखिलको प्यानल बिजयी भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्