यस्तो छ, दुबई देखि नेपालसम्म सुन तस्करीको जालो
निकै चर्चित साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । आइतबार सिआइबीले पत्रकार सम्मेलन गरेर खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको बताएको छ ।
‘खड्कासहित ५ जना रेडकर्नर नोटिसमा परेका छन’ सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले भने ‘अब इन्टरपोल मार्फत उनीहरुको खोजी हुन्छ ।’ उनीहरु सबै दुबइमा छन । रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेको डिआइजी सिलवालले बताए ।
खड्का नै सुनको मालिक भएको र फरार रहेका सबैले सुनमा लगानी गरेको सिआईबीको अनुसन्धानले देखाएको छ । दस वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका खड्का पछिल्लो समय जागिर छाडेर सुन तस्करीमा संलग्न भएको पाईएको अनुसन्धान व्युरोको भनाइ छ ।
दुबईमा नेपालीको साथ लिएर सुन तस्कर गरिरहेका खड्काले प्रहरी र विमानस्थलका भन्सार कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर लामो समयदेखि नेपालमा सुन भित्र्याइरहेका थिए । सुन तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै प्रहरीले ३० जनाको नालिबेली सार्वजनिक गरेको छ ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करमा संलग्नको स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको हो । प्रहरीको दाबीअनुसार युएईमा बस्ने १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ गर्न बाँकी छ ।
सुन तस्करीका नाइके हरिशरण खड्काको नेटवर्क अन्र्तगत काम गर्नेहरुमा ध्रुब, रोशन गुप्ताल भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चुडामणि उप्रेती, केशव चापागाई, सञ्जय भनिने दुर्गाप्रसाद खरेल र गोपाल भुसाल छन् ।
त्यसैगरी नेपालमै रहेर सुन तस्करीमा लागेकाहरुमा सन्तोष काफ्ले, गोपाल शाही, दिलबन्धु थापा मुख्य रहेको प्रहरीको दाबी छ । उनीहरु युएईबाट सुन ‘रिसिभ’ गर्ने र विभिन्न ठाउँमा सप्लाई गर्ने काममा संलग्न रहेको प्रहरी भनाइ छ ।
युएईबाट आएको सुनका मुख्य ‘रिसिभर’ व्यक्तिहरुमा रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल रहेको प्रहरीको निश्कर्ष छ । त्यसैगरी गोपाल शाहीसँग मिलेर भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको सीआइबीले बताएको छ ।
तस्करीका लागी एयरपोर्टमा को–को संलग्न थिए त ?
सीआइबीको रिपोर्टमा सुन तस्करहरुलाई एयरपोर्टमा क–कसले सघाउने गरेको छ भन्ने पनि उल्लेख छ । जसमा दिलबहादुर थापाले ल्याएको सुन विमानस्थलमा श्रीनारायण यादवसम्म आइपुग्ने र उनीबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको बताइएको छ ।
यादवबाट एसएसपी खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रद्युम्नहरी श्रेष्ठसम्म विमानस्थलबाटै सुन तस्करीमा संलग्नता देखिएको सीआइबीको रिपोर्ट छ ।
कसले मगाउँथ्यो त तस्करीको सुन ?
प्रहरीले युएईबाट सुन डिमान्ड गर्ने समूहको समेत नाम सार्वजनिक गरेको छ । सीआइबीको रिपोर्टअनुसार सुनको डिमाण्ड गर्ने समूहमा राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठ रहेका छन् ।
सुनको डिमाण्ड ग्रुपसँग साझेदारका रुपमा संलग्नहरुमा रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ रहेको सीआइबीले जनाएको छ । त्यस्तै मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि सेयर होल्डरका रुपमा तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ ।
मुख्य १८ जना उम्किए, सहयोगी १२ समातिए
प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेको जनाइएको छ । पक्राउ परेकाहरुमा एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही समेत छन् ।
पक्राउ परेका अन्य व्यक्तिहरुमा सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ छन् । बाँकी सबै फरार छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्