कुन-कुन देशका नागरीकलाई छ अमेरिका प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेका विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् ।
ट्रम्पले गत महिना पद सम्हाले लगत्तै जारी गरेका आदेशको व्यापक आलोचना भएको थियो । लगत्तै कानुनी मान्यताप्राप्त भिसा भएका नागरिकलाई समेत विभिन्न विमानस्थलमा रोकिएको थियो भने कतिपयलाई स्वेदश फिर्ता गरिएको थियो । यसबाट अमेरिकाभर ट्रम्पको विरोध भएको थियो ।
नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर ट्रम्पका निकट सहयोगी केलियाने कन्वेले फक्स न्युजसँग कुरा गर्दै प्रतिबन्धित देशको सूचीबाट इराकलाई हटाउने बताएका छन । यसबाहेक इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन गरी ६ देशका नागरिकलाई भने ९० दिनको प्रतिबन्ध लाग्न सक्ने जनाइएको छ ।
कोन्वेका अनुसार प्रतिबन्धित देशका ग्रिन कार्ड भएकाहरू भने नयाँ आदेशबाट प्रभावित हुने छैनन । नयाँ आदेश आगामी मार्च १६ बाट लागू हुने कोन्वेले बताए । १० दिनअगाडि नै पूर्वसूचना दिइँदा यसअघि सामना गरिएको अस्तव्यस्त अवस्थामा कमी आउने उनको भनाइ छ ।
यसअघि गत २७ जनवरीमा पूर्व जानकारीबिना आदेश जारी गर्दा अमेरिकाभर अस्तव्यस्त अवस्था सिर्जना भएको थियो । ट्रम्पले आफू निर्वाचित हुनुअघि पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टयाप गर्न निर्देशन दिएको भनेर गरेको दाबीलाई संघीय अनुसन्धान ब्यूरो (एफबीआई)का निर्देशक जेम्स कोमेले अस्वीकार गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्