एसएसबी गोलीकाण्डपछी आयो सरकारी प्रतिक्रिया
परराष्ट्र मन्त्रालयले भारतीय सीमा सुरक्षाबलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनाप्रति आपत्ति जनाउँदै ‘दोषीलाई दण्ड दिन’ भारत सरकारसँग माग गरेको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका–८ स्थित नेपाल–भारत सीमावर्ति आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (बिएसएफ) ले चलाएको गोली लागेर बिहीबार दिउँसो नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो ।
परराष्ट्रले बिहीबार राति अबेर गरी जारी गरेको विज्ञप्तिमा कञ्चनपुर गोलीकाण्डलाई सरकारले उच्च कूटनीतिक स्तरमा गम्भीरतापूर्वक उठाइसकेको उल्लेख गरेको छ ।
‘नेपाल सरकारले यो विषयलाई भारत सरकारको उच्च कूटनीतिक तहमा गम्भीरतापूर्वक राखिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले घटनामा छानबिन गरी दोषीलाई दण्ड दिन भारत सरकारसँग माग गरेका छौं ।’
सीमावर्ति क्षेत्रमा थप तनाव बढ्न नदिन आवश्यक पहलको निम्ति पनि सरकारले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता गृह मन्त्रालयले कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीले चलाएको गोली लागेर निर्दोष नेपालीको ज्यान गएको घटना दुःखद र निन्दनीय भएको बताएको छ । बिहीबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले दुई देशका स्थानीय अधिकारीबीच फागुन १० गतेको सहमति अनुसार कच्ची कल्भर्ट निर्माण गरिएको र फागुन २५ मा भारतीय पक्षले सो कल्भर्ट भत्काएपछि स्थानीय नेपाली आक्रोशित भएको उल्लेख गरेको छ ।
गृहको विज्ञप्तिमा भनिएको छ–‘त्यसको विरोधमा स्वतःस्फूर्त भेला भएका स्थानीय र भारतीय पक्षबीच वादविवाद भइरहेको अवस्थामा एसएसबीले एक्कासी फायर गरेको गोली लागी घाइते भएका गोविन्द गौतमको धनगढी लैजाँदै गर्दा बाटैमा मृत्यु भयो ।’
‘पूर्व सहमतिमा निर्मित कल्भर्ट सरोकारवालासँग कुनै छलफल, संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपालीको मृत्यु भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय छ’–विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले सीमा रक्षकले आवेगमा आएर गोली प्रहार गरेको भन्दै घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताएको छ । विज्ञप्तिमा यो समस्याको समाधानका लागि कुटनीतिक पहल गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।
नेपाल सरकारले भारतीय प्रहरीको गोली लागेर गौतमको मृत्यु भएको बताए पनि काठमाडौंस्थित भारतीय दूतावासले घटनामा एसएसबीले गोली नचलाएको विज्ञप्ति निकालेको छ । कञ्चनपुरमा एसएसबीको तर्फबाट कुनै फायरीङ नभएको भारतीय दूतावासले जनाएको छ ।
काठमाडौं स्थित भारतीय दूतावासले बिहिबार एक विज्ञप्ति निकालेर आफ्नो तर्फबाट कञ्चनपुरको पुनर्वासमा कुनै फायरिङ नभएको दाबी गरेको हो । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सञ्चार माध्यमले बताए जस्तो कञ्चनपुरको आनन्द बजारमा एसएसबीले फायरिङ गरेको छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्