सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वैशाख १ देखि मिर्गौला प्रत्यारोपण निःशुल्क

सरकारले आगामी वैशाख १ देखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् ।

‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भने ।

उनले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिए । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भने, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’

मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताए । उनले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिए ।

सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उनले बताए । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उनको भनाइ थियो ।

मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो ।

सो बसले बिरामीलाई अस्पताल ल्याउने र अस्पतालबाट घर पुर्याउने काम गर्दछ । केन्द्रको बस सेवाले रातको समयमा बिरामी डिस्चार्ज हुँदा र अरू समयमा पनि गाडी नपाएर बिरामी बिचल्लीमा पर्ने समस्याको अन्त्य हुनेछ ।

चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको भनाइ छ ।

मुटु, उच्च कोलेस्ट्रोल, श्वासप्रश्वासमा समस्या, कलेजोमा बोसो जम्ने, पित्तथैलीको रोग, हाडजोर्नी खिइँदै जाने, मोटोपन भएकामा क्यान्सर हुने, मानसिक समस्याको कारण पनि मोटोपनले नै गर्ने उनले बताए ।

‘सामान्य तौल भएका मानिसमा भन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चार गुणाले बढी हुने भएका कारण मोटोपन घटाउनु जरुरी छ,’ श्रेष्ठले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्