सहिद गोविन्दको उच्च सम्मानका साथ अन्त्येष्टी
मातृभूमिको रक्षार्थ लड्दा लड्दै मृत्यु भएका कैलाली पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । गौतमको शब यात्रापछि उच्च सम्मानका साथ आज अन्त्येष्टि गर्न लागिएको हो ।
गौतमको शब सेती अञ्चल अस्पताल धनगडीमा राखिएको छ । केही समयपछि उनको शवयात्रा हुने बताइएको छ । अस्तपालदेखि स्थानीय दोधा नदीसम्म हुने शबयात्रामा सहभागी हुन सयौं स्थानीय अस्पताल परिसर र नदी किनार पुगेका छन् ।
स्थानीय प्रशासनले पुनर्वासमा लगाएको निषेधाज्ञा अझै जारी हुँदा स्थानीयलाई शवयात्रामा सहभागी हुन समस्या भएको छ । प्रशासनले आइतबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका गौतमको अन्त्येष्टिमा ११ तोपको सलामी दिइने सरकारले निर्णय गरको छ । बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।
पुनर्बासका स्थानीयले गौतमको राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपछि गौतमका परिवार र स्थानीय दाहसँस्कारका लागि सहमत भएका हुन् । सरकारले गौतमलाई शहीद घोषणा गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्