सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज रङहरुको पर्व होलीः हर्षोल्लाससाथ मनाइँदै

आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो ।

रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ ।

होलीमा मादक पदार्थ सेवन गर्नेहरुको सङ्ख्या पनि बर्षेनि बढिरहेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ ।

रंगहरुको फागु पूणिर्मा अर्थात् होलीका अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले सम्पूर्ण देशवासीमा सुख, शान्ति, सद्भाव भातृत्व र एकता वृद्धिका लागि शुभकामना व्यक्त गरका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्