सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संशोधनको पक्षमा मतदान गर्नुपरे सरकार छाड्छौँ

 

उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । थापाले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको दोर्होयाएका छन ।

सोमबार रिपोर्टर्स क्लबमा बोल्दै थापाले भने–‘हाम्रो पार्टी संशोधन प्रस्तावको विपक्षमा छ । यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णयार्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’

राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनै पनि परिवर्तन नभएको जिकिर गर्दै भने–‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ ।’

थापाले मधेस केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाइसकेको समेत दाबी गरेका छन । उनले भने–‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु ।’

उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारेका छन । प्रधानमन्त्री प्रचण्डको विशेष आग्रहमा आफू सरकारमा गएको उनले दाबी गरे ।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्री भएदेखि नै हामीलाई सरकारमा आउन आग्रह गर्नु भएको थियो, तर हामीले अहिले आवश्यक छैन भनेर भनेका थियौं,’ उनले भने, ‘अहिले सरकारको स्थायित्वमाथि गम्भिर प्रश्न चिन्ह खडा भएकाले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनको लागि हामी सरकारमा सहभागी भएका हौं ।’

मधेशी मोर्चालाई भर्याङ बनाएर तपाई सत्तामा पुग्नुभयो भन्ने आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा थापाले भने–‘यो विल्कुल गलत कुरा हो, यो सरकारको स्थायित्वमा प्रश्न चिन्ह आउने भएकोले राप्रपा बाध्य भएर सरकारमा सहभागी भएको हो ।’

थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका तथा उपशंका गर्न नहुने बताए । उनले लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकाले आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई पनि चुनावमा सहभागि गराउनुपर्ने बताएका छन ।

राप्रपा संघीयता विरोधी भए पनि संघीय मामिला तथा स्थानिय विकास मन्त्री किन बनेको भनेर पत्रकारले सोधेको प्रश्नमा थापाले मुलुकमा संघीयता अघि बढिसकेकाले अब यसलाई फर्काउन नसकिने प्रतिक्रिया दिए ।

संघीयतामा मुलुक अघि बढिसकेकाले अब आफूहरु चुप लागेर बस्न नसक्ने बताउँदै उनले भने–‘कमण्डलु बोकेर पशुपतिमा जाने कुरा त आउँदैन नि, राजनीति त गर्नैपर्यो नि ।’

उनले राप्रपा कुनै पनि हालतमा नफुट्ने जिकिरसमेत गरे । ‘यो पार्टी अब कसैले चाहेर पनि फुटाउन र टुटाउन सक्दैन । पार्टी एक ढिक्का भएर अघि बढ्छ । डा. प्रकाशचन्द्र लोहनीले हिजो यहीँ रिपोर्टर्स क्लबबाट पार्टी परित्याग गरेको घोषणालाई मैले त्यति महत्व दिएको छैन ।’

उनले भने, ‘तर लोहनीले पार्टी परित्याग गरेको खबरले मलाई दुःखी तुल्याएको छ । उहाँहरुले ठीक ढंगले बुझ्न सक्नुभएन ।’ उनले डा. लोहनीले आफूमाथि लगाएका सबै आरोपहरु कपोकल्पित, असत्य र निराधार भएको स्पष्ट पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्