साझा यातायात भक्तपुरमा, सिण्डिकेटवालाको बिरोध
साझा यातायातको बस सेवा भक्तपुरमा पनि सुरु हुने भएको छ । साझा यातायातले २० वटा बसका लागि भक्तपुरसम्म रुट इजाजत माग्दै यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको छ ।
साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस संचालन गर्ने भएको छ । यसको जानकारी पाए लगत्तै यातायात ब्यवसायीले यातायात ब्यवस्था विभाग पुगेर भक्तपुरका रुटमा साझा बस चलाउन नदिन दबाव दिएका छन् ।
उनीहरुले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभाग समक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका छन् ।
लामो समयदेखि भक्तपुरका स्थानीय रुटमा यातायात ब्यवसायीहरुको एकहोरो बोलवाला छ । अन्य केही महत्वपूर्ण रुटहरुमा एकाधिकार तोडेपनि भक्तपुरमा साझा बस गएको छैन ।
अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, सहीदगेट, सिंहदरबार, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मिनभवन हुँदै कोटेश्वरसम्म चल्ने सबै बस भक्तपुरसम्म जानेछन् । यो रुटमा अहिले १० वटा बस रहेकोमा अरु १० वटा बस पनि यही रुटमा आउनेछन् ।
१० वटा बसहरु जडिबुटीबाट सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटो मार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक, कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किनेछ ।
भक्तपुरमा साझा बस बसपार्कमा गएर रोकिने छैन । यात्रुहरु चढाउँदै ओराल्दै भक्तपुरका दुबै बाटोमा ‘नन–स्टप’ चलिरहने छ । विभिन्न रुटका १० वटा बसलाई ब्यवस्थापन गरेर साझाले भक्तपुरमा थप्ने तयारी गरेको हो ।
१० वटा बस जडिबुटीबाट सानोठिमी, भक्तपुर, पुरानोबाटो, सूर्यबिनायक हुँदै कमलविनायक जानेछन् । अरु १० वटा बसपनि कमलविनायकसम्म पुगेर फर्किनेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्