सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुरक्षा दिने प्रहरी नै ब्यापारीको अपहरणमा

म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य थापालाई पक्राउ गरेको हो ।

सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत माघ १ गते अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । एसएसपी अमात्यले भने–‘दुई महिना अघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ ।’

दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ । चार जनाको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेको भेटिएको छ ।

उनीहरुले राईसँग २५/२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धानका क्रममा अपहरण र फिरौती असुली दुवै घटनामा सईद्वय थापा र तामाङको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

घटना हुँदा सई सूर्य थापा बानेश्वर वृत्तमा कार्यरत थिए । एसएसपी अमात्यले भने–‘अपहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति पाउँदैन । त्यसैले हाम्रै प्रहरीलाई पनि पक्राउ गरेर थुनामा राखेका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्