भारतका बालगृहबाट ३३ नेपाली बालबालिकाको उद्दार
भारतको विभिन्न बालगृहबाट ३३ नेपाली बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र छोरा–छोरी नेपालले उद्धार गरेर काठमाडौं ल्याएको छ । भारतीय बालगृहहरूमा अलपत्र परेका बालबालिकाबारे जानकारी पाएपछि पटनास्थित बालकल्याण समितिलाई पत्राचार गरी स्वीकृति लिएर उनीहरूको उद्धार गरिएको हो ।
मुजफ्फरपुरको निर्देश बालगृहबाट १७, सेवा–संकल्प बालिकागृहबाट २, दरभंगा बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको हो । उद्दार गरिएकामा काठमाडौंकी १८ वर्षकी नेहा पार्वती र वीरगन्जकी १२ वर्षीया सोनाम कुमारी पनि रहेका छन् ।
उद्धार हुनेमा अधिकांश सिरहा र सर्लाहीका बालबालिका रहेका छन् । त्यस्तै, जनकपुर, सप्तरी, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, नवलपरासी लगायतका ठाउँका पनि रहेका छन् । ६ देखि २० वर्षसम्मका बालबालिकाको उद्धार गरिएको छ ।
भारतीय सरकारले अलपत्र परेका बालबालिकालाई समातेर बालगृहमा पुर्याउने गर्दछ । यी ३३ जना बालबालिका पनि होटेल, गुम्बा, मदरसा लगायत ठाउँमा अत्याचार सहन नसकी बाहिरिँदा बालगृहमा पुर्याइएको हो । तर, उक्त बालगृह जेलजस्तो भएको उद्धारका लागि भारत पुगेकी केन्द्रीय बालकल्याण समितिकी कार्यक्रमक संयोजक नमुना भुसालले जानकारी दिएकी छिन ।
सेवा–संकल्प बालिकागृहबाट उद्धार गरिएकी काठमाडौंकी नेहा पार्वतीले मानसिक सन्तुलन गुमाएकी छिन् । उनलाई भारतको एउटा घरमा काम गर्नका लागि लगिएको थियो । भुसालले भनिन–‘नेहा र सोनमलाई लामो समयदेखि एउटा घरमा काम गर्न राखिएको थियो । भुइँतलासम्म पनि आउन दिइएको थिएन ।’
बालबालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजाने गरेको देखिन्छ । कसैलाई पैसा कमाइन्छ भनेर प्रलोभन देखाएर, कतिपय बालबालिका आफैँ पनि भागेर जाने र कसैलाई बाबुआमाले पनि पठाउने गरेको पाईएको छ । कतिपयलाई पढ्न भन्दै गुम्बा र मदरसामा पनि भगाएर लैजाने गरेको पाईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्