सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोडसेडिङ अन्त्यसँगै बिजुली बेच्ने कुलमानको योजना

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने दाबी गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने बताएका छन ।

अर्को वर्ष ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी जलबिद्युत आयोजनाले उत्पादन थाल्ने, निजी क्षेत्रका जलबिद्युत आयोजनाहरुबाट समेत २ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उनले जानकारी दिए । अर्को वर्षदेखि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुँदै निर्यात गर्ने अवस्थामा पुगिने उनको भनाई छ ।

गत बर्ष लोडसेडिङ अन्त्यका लागि भारतबाट नेपालको कूल बिद्युत खपतको ३५ प्रतिशत आयात गरेपनि यो बर्ष ३३ प्रतिशत मात्र आयात गरिएको जानकारी उनले दिएका छन । पैसामा रुपान्तरण गर्दा अघिल्लो बर्ष १४ अर्ब बराबरको बिद्युत आयात भएकोमा यो बर्ष १५ अर्ब हाराहारी पर्न जाने उनले बताएका छन ।

अहिले सुख्खायाम भएपनि देशैभरी रातीको समयमा लोडसेडिङ नभएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन । निर्देशक कुलमान–‘अहिले औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ, अब बिस्तारै त्यसको पनि अन्त्य गर्नेतर्फ प्राधिकरण लागिरहेको छ ।’

सुख्खायाम सकिन लागेकोले अब भारतबाट अहिले भइरहेको आयात परिमाण पनि घटाउँदा फरक नपर्ने उनले बताएका छन । उनले यतिबेला कालीगण्डकी १ सय ४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत आयोजना पूर्ण रुपमा चलिरहेको बताउँदै उर्जा मन्त्रालयले अघि सारेको नेपालको पानी, जनताको लगानी नारा अन्र्तगत २५ सय मेगावाटको आयोजना अघि बढ्ने बताएका छन ।

काठमाडौंमा बिजुलीको माग बढाउन बिद्युत प्रणाली सुधार गरिने उनको भनाई छ । काठमाडौंमा रहेका ट्रान्सफरमरहरु ४ सय मेगावाट क्षमतामा रहेको र यसलाई स्तरोन्नती गरेर १ हजार मेगावाट क्षमताको बनाइने उनले जानकारी दिएका छन ।

घिसिङले लोडसेडिङ न्यूनीकरण गर्ने काममा खटिएका कर्मचारीको सुरक्षा चुनौति निकै संवेदनशील बनेको तथा चुहावटको समस्या पनि त्यत्तिकै देखिएकाले सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगमा विद्युत् सुरक्षा दिवस केन्द्रीत हुने जानकारी दिएका छन ।

घिसिङले ६ महिनाको अवधिमा भएको चुहावट नियन्त्रणबाट ४ प्रतिशत विद्युत् अर्थात् १ अर्ब २५ करोड रुपैयाँ बचत भएको जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्