सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुलमानले पक्राउ गरे बिजुली चोर्ने ४० हजारलाई

नेपाल विद्युत प्राधिकरणले ६ महिनाको अवधिमा अवैधानिक रुपमा बिजुली चोरी गर्ने ४० हजार जनालाई कारवाही गरेको छ । विद्युतीय सुरक्षा दिवसका अवसरमा विभिन्न जिल्लामा चलाइएको बिद्युत चोरी विरुद्धको अभियानमा ४० हजार जना कारवाहीमा परेको तथ्यांक सार्वजनिक गरिएको हो ।

७ महिनाको बीचमा प्राधिकणले झण्डै ५ प्रतिशत विद्युत चुहावट घटाएको जानकारी दिईएको छ । यो आर्थिक वर्षको सुरुवातमा २७.३ प्रतिशतमा रहेको विद्युत चुहावट अहिले घटेर २२.५ प्रशितमा झरेको छ । यसक्रममा विद्युत चोरहरुबाट झण्डै ५ करोड रुपैयाँ राजश्व र जरिवाना स्वरुप असुलिएको छ ।

प्राधिकरणले ६ महिनाको अवधिमा गरेको बिजुली चोरी नियन्त्रणबाट झण्डै सवा अर्बको बिजुली पनि बचत भएको छ । प्राधिकरणमा कुलमान घिसिङले कार्यकारी निर्देशकको पद सम्हालेपछि आक्रामक रुपमा विद्युत चुहावट नियन्त्रणको थालनी गरेका थिए । प्राधिकरणको टिम नै बिद्युत चुहावट नियन्त्रणमा लागेपछि हुकिङबाट हुने बिजुली चोर्ने ४० हजार कारवाहीमा परेका हुन् ।

नचलेका १० हजार ओटा मिटर फेरियो
प्राधिकरणले यो अवधिमा ग्राहकका बन्द रहेका ९ हजार वान–फेज मिटरलाई रिप्लेस गरेको छ । ६ सय वटा बिग्रिएर बन्द भएका थ्री फेज मिटरलाई पनि परिवर्तन गरेर राजश्वको दायरामा ल्याएको छ । यसअघि यी मिटर नचलेका कारण प्राधिकरणको ठूलो राजश्व गुमिरहेको थियो ।

प्राधिकरणले धेरै विद्युत खपत गर्ने औद्योगिक ग्राहकलाई क्यापेसिटर राख्नैपर्ने गरी काम अघि बढाएको छ । यसले विजुलीको बचत गर्नेछ भने सुरक्षाका लागि पनि यो उपयोगी हुनेछ । झण्डै २४ सय क्यापेसिटर जडान गर्ने गरी काम अघि बढेको प्राधिकरण्का प्रवक्ता प्रबल अधिकारीले बताएका छन ।

प्राधिकरणले झण्डै २ करोड एलइडी बल्ब वितरण गरेर अब ठूला आयोजना नआइञ्जेलसम्म बढ्ने विजुलीको माग ब्यवस्थापन गर्ने योजना बनाएको छ । २ करोड एलइडी बल्ब बल्न सुरु हुनासाथ १५० मेगावाटभन्दा बढी बिजुली बचत हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्