धुलोधुवाँले ल्याउँदैछ राजधानीवासीमा गम्भीर संकट
राजधानी काठमाण्डौ धुलो र धुवाँले कति ग्रसित छ भन्ने कुरा राजधानीबासीलाई राम्रैसँग थाहा छ । काठमाण्डौको धुलो धुवाँकै कारण स्वास्थ्यमा समस्या आउँदा दैनिक सयौँ सर्बसाधारण अस्पताल जाने गरेको स्वास्थ्य रिपोर्ट र चिकित्सकका भनाईले सिद्ध गरिसकेको कुरा हो ।
यही धुलोधुवाँले आजीत भएर होला सायद स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् । मन्त्री थापाले ‘फ्रि भेइकल डे’ र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् ।
वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै उनले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन । मन्त्री थापाको प्रस्ताव अनुसार हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ घोषणा गर्नुपर्ने र यो दिन अत्यावश्यक सेवा बाहेकका कुनै पनि सवारी चलाउन पाइने छैन ।
उनले वायु प्रदुषणले स्वास्थ्यमा पारेको प्रभाव र त्यसको समाधानका लागि भन्दै पाँच पृष्ठ लामो प्रस्ताव क्याबिनेटमा पेश गरेका छन् । प्रस्तावमा तत्काल एक्सनमा जाने गरी उच्चस्तरीय कमिटी बनाउने उल्लेख छ ।
उनका अनुसार काठमाडौं उपत्यकाको हावामा २.५ माइक्रोन भन्दा मसिना कण, जुन श्वासनलीमार्फत सिधै फोक्सोमा पुग्छ, यसको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पाँच गुणा बढि पुगिसकेको उल्लेख गरेका छन् ।
उपत्यकाको हावामा पीएम २.५ को मात्रा ४८ माइक्रोग्राम र घनमिटर पाइएको छ । जबकी मापदण्ड अनुसार १० माइक्रोग्रामरघनमिटर हुनु पर्ने हो । यो मात्रा जाडो महिनामा सबैभन्दा बढी र २४ घन्टामा विहान ८ देखि १० बजेसम्म सबैभन्दा बढी भएको देखिएको छ ।
मन्त्री थापाले प्रधानमन्त्री स्वयमले चासो नलिने र मन्त्रिपरिषदले सवन्धित निकायलाई परिणाममुखी काम गर्न निर्देशन नदिने हो भने वायु प्रदुषणका कारण ज्यान जोखिममा पर्नेको संख्या दैनिक बढ्ने बताएका छन् ।
मन्त्री थापाले वायु प्रदुषण न्यूनिकरणलाई तत्काल अबलम्बन गर्नुपर्ने पाँच कदम पनि प्रस्ताव गरेका छन् । मेलम्चीको खानेपानीको पाइप विछ्याउने कामका कारण सडकको अवस्था विकराल भएको भन्दै उनले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।
सडक खनेपछि तत्काल ग्राभेल, अस्थायी कालोपत्रे गर्नु पर्ने, विकास निर्माणका काम गर्दा प्लास्टिकका टनेल निर्माण गरी ढाकछोप गरेर मात्र काम गर्नुपर्ने र काम भइरहेको स्थानमा पनि दिनमा दुईपटक पानी छर्कने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । धुलो तान्ने मेसिन प्रयोगमा ल्याउनु पर्ने, गुणस्तरीय मास्कको प्रयोगमा बृद्धि गर्नुपर्ने स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।
दिर्घकालीन योजना अन्तरगत पैदल यात्री र साइकल यात्रीलाई प्रोत्साहन गर्नु पर्ने प्रस्तावमा उल्लेख छ । साथै सरकारले समय तोकेर काठमाडौं उपत्यकाभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई उपत्यकामा गुड्न रोक लगाउने घोषणा गर्ने र त्यसअनुसार नीति बनाउने उनले प्रस्ताव अघि सारेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्