कहिले गुड्ला पुर्व–पश्चिम रेल ? यही पाराले ७० बर्ष !
नेपालमा पूर्व–पश्चिम विद्युतीय (बुलेट) रेलमार्ग बन्ने चर्चा हुन थालेको वर्षौं भयो । रेल्वे ट्रयाक निर्माणका लागि काम सुरु नभएको पनि होइन । तर, अहिलेको गतिमा काम भइरहने हो भने पूर्व मेचीबाट पश्चिम महाकालीसम्म रेलमार्गको ट्रयाक बन्न मात्र ४० वर्ष बढी लाग्ने देखिएको छ ।
यसमा सहायक रेल्वे ट्रयाकलाई हिसाव गर्ने हो भने निर्माण अवधि ७० वर्ष बढीको हुनेछ । तर, कामको गति बढेमा भने काम सक्न लामो समय नलाग्ने रेल विभागले जनाएको छ । सरकारले रेल्वेलाई प्राथमिकता दिएको बताएपनि ब्यवहारमा पर्याप्त बजेट दिएको छैन ।
रेल्वे विभागले आगामी वर्षका लागि ४ अर्बको बजेट सिलिङ प्राप्त गरेको विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले बताएका छन । विभागका अधिकारीहरु आफूहरुसँग अहिले बार्षिक ३० अर्बसम्म बजेट खर्च गर्न सक्ने क्षमता रहेको बताउँछन् ।
गतवर्षभन्दा बजेट केही बढाइए पनि रेल्वे विकासको योजनाअनुसार यो सिलिङ ज्यादै सानो देखिएको उनीहरुको भनाइ छ । आगामी वर्षको बजेट सिलिङअनुसार विभागले अर्को वर्ष २० किलोमिटर रेल्वे ट्रयाक मात्र खोल्न सकिने विभागको निश्कर्ष छ ।
९४५ किलोमिटरको पूर्व–पश्चिम रेलमार्गमा अहिले ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । आगामी आर्थिक वर्ष सर्लाहीको कर्मैयासम्म ट्रयाक विस्तार गर्न सकिने विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले जानकारी दिएका छन ।
पूर्व पश्चिम रेलमार्गलाई ९ खण्डमा विभाजन गरिएको छ । जसमा चार खण्ड पश्चिम र तीन खण्ड पूर्वमा पर्छ । साथै पोखरा–काठमाडौं लगायत सहायक रेलमार्गहरुलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।
तर, मूल खण्डहरुकै डीपीआर भइसकेको छैन भने कतिपय सहायक रेलमार्गबारे अध्ययन नै हुन बाँकी छ । सहायक रेलमार्गलाई जोड्दा कामको गति नबढाए अबको ७० वर्षमा पनि निर्माण कार्य नसकिने विभागको आफ्नै आंकलन छ ।
रेल्वे विभागका अनुसार अहिले काम भइरहेको ३० किलोमिटर खण्डको काम सक्न अँझै थप २ अर्ब लाग्ने अनुमान छ । यही अवस्थामा नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था र पुरानो चलिरहेको प्रोजेक्ट पुरा गर्नुपर्ने बाध्यताका बीच सानो बजेटले विभागलाई देखिने गरी काम गर्न समस्यामा पारेको छ ।
सरकारले अहिलेकै गतिमा वार्षिक २० किलोमिटर रेल्वे ट्रयाक थप्दै गए पूर्वपश्चिम रेल गुडाउन कम्तिमा ४० वर्ष लाग्ने देखिएको विभागका अधिकारी बताउँछन् । यो गतिले रेल्वेको वृहत्तर विकास सम्भव नभएपनि सरकारले पुरानै कार्यशैलीमा काम गरिरहेको आरोप रेल्वे अधिकारी लगाउँछन् ।
पूर्व–पश्चिम रेलमार्गका बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ । तर, कामको गति सुस्त छ । झन आगामी वर्ष २० किलोमिटर मात्रै रेल्वे ट्रयाक खोल्ने काम हुने संकेत देखिएपछि कति वर्षमा पूर्व–पश्चिम रेलमार्ग निर्माण भइसक्ला भन्ने प्रश्न जन्मिएको छ ।
पूर्वपश्चिम रेलमार्गमा बुलेट रेल कुदाउने योजना सरकारको छ । तर, योजनाअनुरुप काम भएको छैन भने सरकारले बजेट छुट्याउन पनि कन्जुस्याई गरेको छ । विभागका अधिकारी पूर्व–पश्चिम रेल्वे निर्माणले देशको आर्थिक नक्सा बदल्न सक्ने भएकाले सरकारले यसमा लगानी गर्न कन्जुस्याँइ गर्न नहुने बताउँछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्