सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाहिरी रिङरोड निर्माण सुरु हुँदै, यही बर्ष डोजर चल्ने

काठमाडौं उपत्यकामा बन्ने बाहिरी चक्रपथको डीपीआर एक साताभित्रै तयार हुने भएको छ । डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ विकास आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्र्तगतको आयोजनाले चक्रपथको डीपीआरको अन्तिम रुप दिने काम एक साता भित्रै सक्ने निमित्त प्रमुख ध्रुब सापकोटाले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षमा चक्रपथको ६ वटा खण्डमध्ये एउटामा डोजर चलाएर ट्रयाक खोल्ने काम सुरु हुनेछ ।

पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी गरिएको छ । यो रुटमा जग्गा प्राप्तीको प्रक्रियामा सहमति जुटिसकेकाले अब काम सुरु गर्न समस्या नहुने निमित्त प्रमुुख सापकोटाले बताएका छन ।

अब नयाँ ट्रयाक खोल्ने र वस्ती विकासको पूर्वाधार बनाउने काम सुरु हुनेछ । सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो । तर, अब भने चक्रपथ निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको छ ।

सामाजिक सुनुवाइ पनि सकिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन पनि सकिएको सापकोटाले बताएका छन । ७२ किमी लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले ७२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउँदैछ । थप लगानी नेपाल सरकारले गर्ने भएको छ ।

काठमाडौंमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएको छ । बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ ।

सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ । निमित्त प्रमुख सापकोटाका अनुसार चक्रपथको दायाँबायाँ २५०–२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु आयोजनाले बनाइदिनेछ ।

यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले २ लाख रुपैयाँ आना पर्ने सडक क्षेत्रमा पर्ने जग्गाको मोल उच्च हुने र यसबाट स्थानीयलाई बढी फाइदा हुने उनले बताएका छन । सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थल लगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ ।

निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा वस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गर्नेछ । आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्दा स्थानीयसँग ‘गिभ एण्ड टेक’ अवधारणामा जग्गा लिँदैछ । यसको निर्माणमा अहिले चलिरहेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया यसमा अवलम्बन गरिने छैन ।

बाहिरी चक्रपथ खोल्न लागिएका क्षेत्रमा जग्गा दिने स्थानीयलाई सडकले नै ठूलो फाइदा दिने भएकाले उनीहरुलाई जग्गामा योगदान गर्न लगाइएको छ । अधिकांश स्थानीय जग्गा दिन तयार पनि भएको प्राधिकरणको दाबी छ ।

यस्तो हुनेछ बाहिरी रिङरोडको रुट
बाहिरी चक्रपथ चोभार, गम्चा, सतुंगल, नैकाप पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोर्कर्णेश्वर हुँदै थलीडाँछी क्षेत्रमा पुग्नेछ । रिङरोड दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णडोल, हरिसिद्धी, धापाखेल बुङ्मती भएर चोभारमै पुग्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्