‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्दै नेपाल
सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
ओबीओआरमा हस्ताक्षर गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली चीन जाने तयारीमा छ । चीनले मे १४ र १५ मा ओबीओआर शिखर सम्मेलन गर्दैछ, जहाँ नेपाललाई पनि निम्तो दिइएको छ ।
‘बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने ‘प्रतिनिधि मण्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्ने छ ।’
केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने वचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए । र, चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो ।
नेपालले ‘वान बेल्ट वान रोड’को प्रारम्भीक समझदारी पत्रमा ०१४ मा नै हस्ताक्षर गरेको थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । त्यही कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो । तर, अब यो तोडिएको छ ।
‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेपछि चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ । राष्ट्रपति २९ गते श्रीलंका जाने कार्यक्रम छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्