सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तामाङको हत्यापछी माओवादी कार्यकर्ता भागाभाग

दोलखाको जुँगुमा चुनावी झडपका क्रममा मारिएका कुलवहादुर तामाङको हत्या अभियोगमा पूर्व राज्यमन्त्री देवी खड्का सहित माओवादी केन्द्रका केन्द्रीय नेताहरु विरुद्ध किटानी जाहेरी परेपछी माओवादी कार्यकर्ताहरुको भागाभभाग भएको छ ।

मृतक कुलबहादुरका पिता तथा गौरीशंकर गाउँपालिका वडा नम्बर १ का एमाले उम्मेद्वार गोरे तामाङले माओवादी नेताहरु देवी खड्का, विशाल खड्का, गंगा कार्की, विमर्शराज कार्कीसहित १५० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चरिकोटमा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीपछि प्रहरीले कुलवहादुरको हत्यामा प्रत्यक्ष संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जनाएको छ । मंगलवार राति भएको सो घटनापछि माओवादी नेता कार्यकर्ताले जुँगु छाडेका छन् ।

माओवादी नेताहरु देवी, विशाल र गंगाको गाउँ जुँगु माओवादीको पकड क्षेत्र हो । सो ठाउँमा एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको घरेलु हतियार प्रयोग गरि हत्या भएको थियो । गम्भीर घाइते भएका शिक्षक दिलबहादुर बुढाथोकीको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झडमा परी माओवादी तर्फ पनि केही व्यक्ति घाइते भएका छन् । मृतक तामाङ केही दिनअघिमात्र माओवादी केन्द्र सम्बद्ध वाइसिएल छाडेर एमालेमा प्रवेश गरेका थिए । एमालेले गोरेलाई उम्मेद्वार बनाएपछि आफ्ना पितालाई जिताउन उनी काठमाडौंबाट गाउँ गएका थिए ।

काठमाडौंमा मजदूरी गर्दै आएका कुलवहादुरकी श्रीमती वैदेशिक रोजगारीमा छिन् भने दुई बालबच्चा टुहुरा भएका छन् । मृतकका परिवार सहित एमालेले चरिकोटमा बिरोध प्रदर्शन गरेको छ । घटनापछि दोलखाको उत्तरी क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ ।

गौरीशंकर गाउँपालिकासँगै जोडिएका वैत्यश्वर र तामाकोशी गाउँपालिकामा समेत झडपको त्रास फैलिएको छ । दोलखामा एमालेविरुद्ध कांग्रेस र माओवादीले संयुक्त चुनावी तालमेल गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्