सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मौन अवधीः १ लाख जरिवाना र उम्मेद्वारी गुम्ला

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ । यो अवधि विहीबार राति १२ बजेदेखि प्रारम्भ हुनेछ ।

मौन अवधिमा कुनै पनि दल र उम्मेदवारले चुनावी प्रचार–प्रसार, सभा र जुलसहरु निकाल्न पाउँदैनन् । मौन अवधिको यो आचारसंहिता तोडिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई कारवाही गर्नेछ ।

मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेद्वारको उम्मेद्वारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन २०७३ मा उल्लेख छ । मौन अवधी उलंघन गर्ने उम्मेद्वार वा दललाई निर्वाचन आयोगले एक पटक सचेत भने बनाउनेछ ।

प्रायः हरेक निर्वाचनमा भोट माग्न नपाउने मौन अवधिलाई नोट बाँड्ने समयका रुपमा प्रयोग हुने गरेका आरोप लाग्ने गरेका छन् । मौन अवधिमा बाहिरी प्रचार प्रसार गर्न नपाइने भएकाले सबै उम्मेदवारहरु भित्री चलखेलतिर लाग्छन् ।

विगतको अनुभवलाई हेर्दा मौन अवधिकै समयमा धेरै झडपहरु हुने गरेका छन् । दलका कार्यकर्ता र उम्मेदवारहरु सानो सानो समूहमा मतदाताहरुसम्म पुग्दा अर्को पक्षले रोक्न खोज्ने क्रममा झडप गरेको पाइएको छ ।

के–के गर्न पाइँदैन त मौन अवधीमा ?
मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न पाइँदैन । चुनाव चिन्ह अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन ।

उम्मेद्वार वा राजनीतिक दलको प्रचार–प्रसार वा गाली गलौच हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्