सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आजबाट भोटर कार्ड वितरण, अरुको लिन पाईन्छ ?

निर्वाचन आयोगले आज बिहीबारबाट मतदाता परिचय पत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ मा ३१ गते आइतबार मतदान हुँदैछ । त्यसको तीन दिन अघिबाट मतदाता परिचय पत्र वितरण सुरु गरिएको हो ।

सबै स्थानीय तहको मतदान केन्द्रहरुबाटै मतदाता परिचय पत्र वितरणको व्यवस्था मिलाइएको छ । फोटो सहितको मतदाता परिचयपत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु–आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र समेत खुलाइएको छ ।

सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै पत्ता लाग्नेछ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन ।

परिवारका सदस्यको परिचयपत्र लिन प्रमाण खुल्ने कागजपत्र हुनुपर्नेछ । मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई नमुना मत पत्रमार्फत मतदान गर्ने सही तरिकाबारे पनि सिकाउने छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्