सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

झण्डै दुई दशक लामो प्रतिक्षाको घडी समाप्त

झन्डै दुई दशक देखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सर्वसाधारण जनताको प्रतीक्षाको घडी आज समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित बनेका छन ।

सर्वसाधारण आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा पुगेका छन । वि.सं. २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधि विहीन छ । मतदाताहरु अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतीक्षारत देखिन्थे ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

अधिकार सम्पन्न स्थानीय सरकार चयन गर्न मतदाता उत्साहपूर्वक मतदानका लागि लामबद्ध छन् । निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा वैधानिक रुपमा हस्तान्तरण हुनेछ ।

यस निर्वाचन अन्तर्गत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचन हुनेछन् ।

निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकाका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनपछी स्थानीय तहका कामकारबाही र सेवा सुविधा सहज हुने आम सर्वसाधारणले आशा गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्