सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रतिबन्धित भारु २ करोड सहीत १५ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँ ओसार पसार गर्ने भारतीय नागरिकसहित १५ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट २ करोड बढी रुपैयाँ बरामद भएको छ ।

एक हजार दरका ८ हजार ५०१ थान भारु नोट र पाँच सय दरका २६ हजार ३२० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल काठमाडौं बस्ने अंकुर अग्रवाल, दिनेश अग्रवाल र अनिल कुमार पन्साली छन् ।

काठमाडौं भिमसेनस्थानका सानुराजा रन्जित, काठमाडौं नागार्जुनका राजकुमार गिरी, काठमाडौं बौद्धका मजेन लामा र काठमाडौं स्वयम्भुका अमिरुद्दीनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको ईटहरा गाविस ७ घर भई काठमाडौंको गौरीघाट बस्ने कमला भण्डारी, मोरङ विराटनगरका दिलिपकुमार लाल, विराटनगर–४ का मेघबहादुर थापा, पर्साको आदर्शनगर घर भई काठमाडौं बस्ने सुरेन्द्र कुमार संघाई पनि पक्राउ परेका छन ।

त्यस्तै नवलपरासीको रामग्राम नगरपालिका–१२ का सन्जय कुमार चौधरी, सोही नगरपालिका–८ का पूर्णबासी गुप्ता, कास्कीको पोखरा महानगरपालिका–१७ का नवराज गुरुङ र अछामको दर्ना–८ का पृथ्वी शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिगत केही समय पहिलादेखि विभिन्न संगठित गिरोहले अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्यका साथ भारतीय रुपैयाँको अबैध कारोबार भैरहेको सूचनाका आधारमा प्रहरीले बुधबार काठमाडौंको विनायक नगर कुमारीगाल, गौरीघाट स्थित कमला भण्डारीको डेरामा छापा मारेको थियो ।

उनको कोठामा फेला परेका दुईवटा कालो झोलामा प्रतिबन्धित भारु अन्ठानब्बे लाख बरामद भएको थियो । बुधबार नै काठमाडौंको तिलगंगाको शम्भु मागस्थित होटेल पाँचथर अगाडि लु २ च १९० नम्बरको आकासे निलो रंगको सेन्ट्रो कारबाट ३ वटा झोलाहरु बरामद भएको थियो ।

ति झोलाहरुबाट एक करोड १९ लाख रुपैयाँ बरामद भएको थियो । प्रहरीले बा २ च ९५५२, लु २ च १९० र ग २ च २८१२ नम्बरका कारहरु समेत नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्