सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय नरसिंह कसरी बने नेपालका सांसद ?

छिमेकी देश भारतका नागरिक नेपालमा सांसद र मन्त्री बनेको कुरा नेपाल र नेपालीका लागि कुनै नौलो कुरा त होइन् । भारतको नागरिकता त्यागी अंगीकृत नेपाली नागरिकता लिएर विगतदेखि नै भारतीयहरु नेपालमा सांसद र मन्त्री बन्दै आएका छन् ।

फेरी भर्खरै यस्तै एउटा नयाँ तथ्य बाहिर आएको छ । अंगीकृत नागरिकता लिएर सांसद र मन्त्री बन्नेहरुले हाल प्रधानमन्त्रीसहित राष्ट्रप्रमुख बन्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेकाहरु भारतबाट आएका अंगीकृत वर्चश्व रहेको मधेसवादी दलबाट सिधै सांसद बन्ने गरेको तथ्य बाहिर आएको हो ।

यसको नेतृत्व तत्कालिन सदभावना पार्टी र अहिलेको राजपा नेपालका शीर्ष नेता राजेन्द्र महतोले गरिरहेका छन् । महतोमाथि स्वयं उनी भारतबाट आएको अंगीकृत नेपाली नागरिक भएको आरोप लाग्ने गर्छ । उनले पहिला आफूले नेपालको नागरिकता लिएको र पछि आफ्ना बाबुलाई दिलाएको खबरहरु बेला बेला आउने गरेका छन् ।

यसपटक हामीले उनीमाथि लाग्ने यी आरोपलाई बल पुग्ने खालको तथ्य फेला पारेका छौं । कुरा हो सांसद नरसिंह चौधरीको । जो तत्कालिन सदभावना र अहिलेको राजपाका समानुपातिक सांसद हुन् । उनलाई राजेन्द्र महतोले नै सांसद बनाइदिएका हुन् । सांसद बनाउँदा पैसाको ठूलो चलखेल भएको स्रोतको भनाई छ ।

को हुन त सांसद नरसिंह चौधरी ?
भारतको उत्तरप्रदेश प्रान्तको बलरामपुर जिल्ला भगवानपुर खादर गाउँ ब्लक एस २४ घर भएका नरसिंह चौधरी केही समययता नेपालमा राजनीति गर्दैछन् । उनका बुवा अहिले पनि सोही गाउँमा बस्छन् । उनका बुवाको नाम रामचन्द्र चौधरी हो ।

रोचक कुरा त के छ भने नरसिंहसँग अहिले पनि भारतको नागरिकता छ । नेपालको त हुने नै भयो किनकी, नागरिकता भएरै उनी सार्वभौम नेपालको व्यवस्थापिका संसदको सदस्य नियुक्त भएका छन् । उनले कपिलवस्तुबाट नेपालको नागरिकता लिएका थिए ।

अर्काे कुरा नरसिंहको भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा अहिलेपनि नाम छ । यतिसम्मकी २०१७ (भर्खरै) उत्तर प्रदेशमा भएको चुनावको मतदाता नामावली सूचीमा समेत उनको नाम छ, जसले उनी अहिले पनि भारतीय नागरिक र मतदाता हो भन्ने पुष्टि गर्दछ ।

२००९ को पञ्चायत चुनावका बेला उनीसहित पुरै परिवारको नाम मतदाता नामावली सूचीमा पाइन्छ । उत्तर प्रदेशको ‘पञ्चायत निर्वाचन नामावली २००९’ को १११३ नम्बरमा उनको नाम छ । उनका बुबा रामचन्द्रको ११११मा नाम छ ।

नेपालको संविधानअनुसार अंगीकृत नागरिकता लिएको १० वर्षपछि मात्रै राजनीति तथा सार्वजनिक पद धारण गर्न पाउने प्रावधान छ । तर, नरसिंह त भारत र नेपालको साझा नागरिक भई नेपालको सांसदसम्म हुन सफल भएका छन ।

उनलाई यहाँसम्म पुर्याउने माध्यम पैसा बन्यो भने पुर्याउने व्यक्ति राजेन्द्र महतो बने । महतोलाई न त संविधानले रोक्यो नत कानूनले नै । मधेसी दल र आन्दोलनको आडमा एउटा भारतीय नागरिकलाई सिधै नेपालको सांसद बनाइदिएर छाडे ।

अर्काे कुरा नरसिंहका छोरा वृजेन्द्र यादव रुपन्देहीमा बस्छन् । उनी पेट्रोलियम व्यवसाय गर्छन् । नाकाबन्दीको समयमा उनी तेल तस्करी गर्दागर्दै पक्राउ परेका थिए ।

नेपालको अंगीकृत नागरिक लिएर थुप्रै भारतीय नागरिक सांसद र मन्त्रीसम्म बनेपछि भारतको नागरिकता परित्याग नगरिकनै नेपालको नागरिकता लिएर सिधै सांसद बन्नु यो एउटा सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप हो ।

यसले दिर्घकालमा देशलाई अप्ठेरो स्थितीमा धकेल्ने निश्चित छ । त्यसकारण यस प्रकरणमा अनुसन्धान गरिनुपर्छ । र, यस्तो प्रवृतिलाई निरुत्साहित पार्नुपर्छ ।

के भन्छन् नरसिंह ?

यस्तो तथ्य फेला परेपछि नरसिंह सम्पर्क गर्दा उनले आफ्नो बुबाले भारतमा जग्गा किनेको स्वीकार गरेका छन । ‘धेरै वर्ष पहिला नै मेरो बुबाले उत्तर प्रदेशको भगवानपुरमा जग्गा किन्नुभएको थियो,’ उनले केही तथ्य लुकाउँदै भने, ‘त्यसैले मेरो बुबाको नामावली त्यहाँ भयो होला तर म कपिलवस्तुको सिमेरी माझेर सिसवा वाड नम्बर–६ मा जन्मेको हुँ ।’

तपाईको मतदाता नामावली पनि उत्तर प्रदेशमै रहेछ नि ? भन्ने प्रश्नमा भने उनले गोलमोटोल प्रतिक्रिया दिए । ‘मेरो बाजे–बराजु नै नेपालमा जन्मिनु भएको हो,’ उनले भने, ‘मेरो सबै नागरिकता नेपालकै छ ।’ उनले आफूले अध्ययन भारतकै लखनउ गरेको पनि स्वीकार गरे । यद्यपि २०३६ सालदेखि नै नेपालमै बसेर वकालत गरेको उनको दाबी छ ।

नरसिंह चौधरी भारतीय नागरीक भएको प्रमाण

नरसिंह चौधरीको नाम भएको भारतको निर्वाचन आयोगको मतदाता नामावलीको विवरण

फेसबुकबाट कमेन्ट गर्नुहोस्