सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुलहीको अनुहार मन नपरेपछी बिहेलगत्तै डिभोर्स

बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध विच्छेद) दिएका छन् । भारतको बिहार बेतिया नजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् ।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध विच्छेद) गरेका थिए ।

मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने धार्मिक कानून छ । विवाह सकिएलगत्तै दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् ।

केटी मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ । जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्रभलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्