सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मतपत्र च्यातिएकोबारे निर्वाचण अधिकृतको भनार्ई

मतगणना भईरहँदा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीले मतपत्र च्यातेपछी भरतपुर महानगरपालिकाको मतगणना आइतबार मध्यरातदेखि स्थगित भएको छ । २९ वडा रहेको भरतपुरको वडा नम्बर १९ को मतगणना चलिरहँदा राति मतपत्र च्यातेपछी विवाद भएर मतगणना रोकिएको हो ।

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले राति पौने १२ बजेसम्म सामान्य रुपले मतगणना चलिरहेको तर अचानक एक मिनेटभित्र मतगणनास्थल रणभूमि परिणत भएको बताएका छन ।

‘राति पौने १२ बजेतिर म बाथरुम जान भनी उठें, त्यतिञ्जेल सामान्य रुपले मतणना भइरहेको थियो’, न्यौपानेले भने, ‘म बाथरुम नपुग्दै मतगणनास्थल रणभूमिमा परिणत भयो । कसले के गर्यो भन्ने नै थाहा भएन । हामीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।’

आइतबार साँझ वडा नम्बर १९ को मतगणना सुरु गरिएको थियो । २८ सय मत खसेको सो वडामा राति पौने १२ बजेसम्म करिब १८ सय मतणना भएर नतिजा सार्वजनिक भइसकेको थियो । त्यतिञ्जेल मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहाल भन्दा ७ सय ३३ मतले अगाडि थिए ।

न्यौपानेका अनुसार थप ४०० मत पत्र पनि गणना भइसकेको थियो तर त्यसको नतिजा सार्वजनिक भइसकेको थिएन । यसअघि २७ वटा वडाको मतगणना सकिदाँ मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।

निर्वाचन अधिकृत न्यौपानेले एकाएक के भएर मतगणना स्थलमा रणभूमिमा परिणत भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन । ‘आफ्नै ज्यान जोगाउन मुस्किल भएको बेला कसले के गर्यो भनेर कसरी किटान गर्नु?’ उनले भने, ‘कति मत पत्र च्यातियो भन्ने कुरा पनि हामीले एकिन गर्न सकेका छैनौं ।’

मतगणनास्थल रणभूमि भए कसैलाई चोटपटक लागेको होला नि भन्ने प्रश्नमा न्यौपानेले बाहिर रहेका सुरक्षाकर्मी भित्र गएर स्थिति सम्हालेको तर कसैलाई चोटपटक लागेको बारे आफूलाई जानकारी नभएको बताएका छन ।

मतगणनास्थलको सुरक्षाको लागी खटिएका एसपी दिपक थापाले भने माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीले नै मतपत्र च्यातेको प्रस्ट पारेका छन । एसपी थापाले च्यातिएको मतपत्रको संख्या ४/५ ओटा मात्रै रहेको बताएका छन ।

निर्वाचन अधिकृत न्यौपानेले बाँकी रहेका मत पत्रसहित मतगणना स्थल सिल गरेर राखिएको र त्यसको प्रतिवेदन निर्वाचन आयोगमा पठाइसकिएको जानकारी दिएका छन । न्यौपानेले भने–‘के के भएको छ, हामीले प्रतिवेदन बनाएर आयोगलाई पठाइदिएका छौं । आयोगले जे निर्णय गरेर पठाउँछ, त्यही अनुसार हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्