सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाँदर झैँ उफ्रेर मतपत्र च्यातेः एसपी थापा

भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा आईतबार मध्यरातमा मतपत्र च्यातिएको घटनाबारे मतगणना स्थलको सुरक्षार्थ खटिएका चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाको भनाई यस्तो छः

मतगणना शान्तिपूर्ण रुपमा नै भएको थियो । कभर्ड हलभित्रको वातावरण सौहार्दपूर्ण थियो । म र डीएसपी सावसमेत गरेर त्यो बेला ३३ प्रहरी त्यहाँ थियौं । पार्टीका मुख्य नेताहरु पनि थिए । ६ वटा समूह बनाएर मत गन्ने काम हुन्छ, हिँजो पनि त्यही भइरहेको थियो ।

कतै गणना भइरहेको थियो, कतै सकेर रेजा गन्ने काम हुँदैथियो । जसमध्ये दुईवटा समूहमा विवाद निस्कियो । विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मतपत्र समात्न गए । चार पाँचवटा जति च्याते पनि । उनी उफ्रेको देख्नेवित्तिकै म तत्काल त्यता बढेँ ।

उनलाई समाइयो । त्यसपछि थप व्यक्ति पनि समातिए । मतपत्र च्यात्ने कार्यमा संलग्नहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन् । उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन् । त्यहाँ पार्टीले तोकेका प्रतिनिधिहरु नै थिए । त्योभन्दा बाहेकका व्यक्तिहरु भित्र थिएनन् ।

गन्दै गरेको त्यस्तै चार पाँचवटाको हाराहारीमा मतपत्रहरु च्यातिएको अवस्था छ । गनेर भ्याएको मुठोको मतपत्रहरु पनि च्यातिएका छन । जसको नतिजा सार्वजनिक भइसकेको थिएन । हिँजो मध्यरातमा भएको घटना यही हो ।

हामीले सबै मतपत्र र टुक्राहरुसमेत एकै ठाउँ संकलन गरेका छौं । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मत गणना नहुने सूचना निकालेको छ । वडा नं. १९ को मतगणना हुँदै थियो । २० को बाँकी नै छ ।

कभर्ड हलको गेटमा निर्वाचन आयोगले ताला लगाएर सिल गरेको छ । एमालेले पनि ताला लगाएको छ । अरु पार्टीहरुलाई पनि ताला लगाउन भनेका छौं । मत गणना स्थल वरपर निषेधित क्षेत्र कायम गरेर नारा जुलुस गर्न नपाउने व्यवस्था मिलाउँदैछौं ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्