मतपत्र च्यातेको माओवादीले स्वीकार गर्यो
भरतपुर महानगरको मत गणनामा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री पुत्री रेणुले धेरै भोट पाउने आशा गरेको वडा नम्बर १९ मा सोचेजति भोट नआएपछि रेणु चुनाव हार्ने पक्का निश्कर्षमा पुगिन् । त्यसैबेला खानका लागि ब्रेक गर्ने नाममा मतगणनाका माओवादी प्रतिनिधि अन्य नेताहरुसँगै दुई घन्टा गोप्य बैठक बसे ।
फेरि मत गणना सुरु गर्दा माओवादीका प्रतिनिधिहरुले मतपत्र च्याते । उनीहरुलाई प्रहरीले मतपत्र च्यातिरहेकै ठाउँबाट रंगेहात पक्राऊ गर्यो । चुनाव हार्ने निश्चित भएपछि मतपत्र च्यातिएको बहाना बनाएर भए पनि मतदान दोहोर्याउने माओवादीको योजना थियो । सोही अनुसार उनीहरुले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातेर ठाउँका ठाउँ पक्राऊ परेका छन् माओवादी नेता । तर, प्रधानमन्त्री पुत्री रेणुले बाहिर अर्कै प्रचार ल्याइन–‘मैले जित्ने देखेर एमालेका साथीहरु अत्तालिए ।’ एमालेका साथीहरु अत्तालिएर माओवादी नेता मत च्यात्दा च्यात्दै पक्राऊ परेका हुन् ? रेणुसँग यसको जवाफ छैन ।
लोकतान्त्रिक प्रणालीलाई स्वीकार नगर्ने माओवादीले यतिसम्म गर्नुलाई दुनियाँले अन्यथा ठान्दैनन् । तर, भरतपुरको हकमा जनताको मत च्यात्ने लोकतन्त्र विरोधी कामको मतियार कांग्रेस नेतृत्व पनि बनेको छ । पुनः मतदानको बखेडा झिक्न आफैंले मतपत्र च्यात्ने काम गरेपछि रेणुले माओवादी कार्यकर्ता मार्फत एमालेले मतपत्र च्यातेको प्रचार गराउन लगाइन, जुन प्रचार झुठ भएकाले टिक्न सक्ने अवस्थामा थिएन । टिकेन पनि ।
सञ्चार माध्यममा मतपत्र च्यात्ने माओवादी नेता पक्राउ परेको तस्बिर आयो । यसले प्रधानमन्त्री पुत्रीलाई खपिनसक्नु भयो । त्यसपछि एमालेले मतपत्र च्यातेको तस्बिर बाहिर ल्याउने आइडिया निकाल्यो । तर, माओवादीको त्यो आइडियाले माओवादी नेतृत्व झन् नराम्रोसँग फस्न पुग्यो ।
केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल जनकपुर जाँदा त्यहाँका स्थानीयले उनीमाथि कालो झण्डा देखाएका थिए । सोही क्रममा प्रहरीले त्यहाँका स्थानीय युवाहरुलाई पक्राऊ गरेको थियो । त्यो तस्बिर प्रयोग गरेर माओवादीले एमालेले मतपत्र च्यातेको र प्रहरीले पक्राऊ गरेको भनी तस्बिर सार्वजनिक गर्यो ।
त्यसले अझ उल्टो असर माओवादीलाई नै किन पर्न गयो भने तस्बिरमा चितवनमा एमाले कार्यकर्ता पक्राऊ परेको भनी पोष्ट गरिएको भए पनि त्यही तस्बिरको पृष्ठभूमिमा जनकपुर लेखिएको साइनबोर्ड देखियो ।
जनकपुरको तस्बिर प्रयोग गरेर मतपत्र च्यात्ने एमाले कार्यकर्ता भन्ने माओवादीले भ्रम दिन खोज्दा जनकपुरका युवाहरु आफ्नो बदनाम गरिएको भन्दै आक्रोशित भएका छन् । जनकपुरका युवा संजिवकुमार झाले त माओवादीले प्रयोग गरेको तस्बिर आफ्नो फेसबुकमा पोष्ट गरी माओवादीले जनकपुरवासीको अपमान गरेको भनी टिप्पणी गरे ।
जनकपुरका सरोज मिश्र र जितेन्द्र महासेठले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाउँदा प्रहरीले पक्रेको तस्बिर राखेर भरतपुरमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको प्रचार गरिएको भन्दै उनले खेद ब्यक्त गरे ।
माओवादीद्वारा मतपत्र च्यातेको स्वीकार
मतगणनास्थलमा उपस्थित माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्याते पनि आफूले नभएर एमालेले च्यातेको दावी गर्दै आएको माओवादी र कांग्रेसको गठबन्धनले घुमाउरो तरिकाले आफैंले मतपत्र च्यातेको स्वीकार गरेका छन् ।
माओवादी चितवनका इन्चार्जले हस्ताक्षर गरेको विज्ञप्तीमा एमाले प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछी रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन गएको उल्लेख गरिएको छ । जो आफैमा हास्यास्पद र झुट हो भन्ने प्रश्ट हुन्छ ।
वडा नम्बर १९ मा आफूले सोचेजति भोट नआउने प्रष्ट भएपछि पुनः मतदान गराउने रणनीति अनुरुप मतपत्र च्यात्ने निश्कर्षमा पुगेको माओवादी र कांग्रेसले पुन मतदान गर्न माग गरेका छन् । स्रोतः चक्रपथ
फेसबुकबाट कमेन्ट गर्नुहोस्