मतपत्र छानबिन प्रतिवेदन आयोगमा बुझाईयो
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
टोलीले सोमबार नै चितवन गएर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।
आयोगले यो विषयलाई छिटो टुङ्ग्याउने पक्षमा छ, आयोगका प्रवक्ता शर्माले भने, “निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकाल्न सक्नुहुन्छ ।”
टोलीमा सहजकर्ताका रुपमा सहभागी भएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ ।
सो टोलीले त्यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुख लगायत गणनामा सहभागी कर्मचारीसँग समेत रायसुझाव लिएको थियो ।
आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले (माओवादी केन्द्र)का दुई जनालाई नियन्त्रणमा लिएको छ ।
माओवादी केन्द्र र नेपाली काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका– १९ को मतदान पुनः गर्नुपर्ने माग गरिरहेका छन् भने एमालेले च्यातिएको मतपत्र छोडेर बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरिएको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।
भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहेका थिए ।
महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । यसैबीच नेकपा एमाले चितवनले तत्काल मतगणनाको माग गर्दै मङ्गलबारदेखि विरोधस्वरुप मतगणनास्थल बाहिर धर्नामा बसेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्