शेरबहादुर देउवा बने चौथो पटक प्रधानमन्त्री
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसदको बैठकबाट देउवा बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत परेको थियो । मतदान प्रक्रियामा कूल ५५८ सांसदहरु सहभाथि थिए ।
संसद बैठकमा देउवाले उम्मेद्वारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक रामचन्द्र पौडेल, विजयकुमार गच्छदार लगायत पाँच जनाले समर्थन गरेका थिए ।
व्यवस्थापिका संसदको नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेद्वारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
एउटा मात्र उम्मेदवारी दर्ता भएकोले उपनियम ७ आकर्षित भएकाले संसदको निर्णय मतविभाजनबाट हुनुअघि सभामुखले संसदबाहिर रहेका सांसदलाई संसद भित्र आउनका लागि तीन मिनेटको जनाउ घण्टी बजाउन लगाएकी थिइन् ।
देउवाको पक्षमा हुन्छ र हुन्न भन्ने सांसदहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर त्यहाँ राखिएको क्रमसंख्या अनुसारको नाममा सांसदहरुले आफ्नो मत जाहेर गरेका थिए । संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरेकी थिईन ।
देउवा चौथो पटक मुलुकको ४० औ प्रधानमन्त्री बनेका हुन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले यसअघि तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।
पछिल्लो पटक देउवा २९ जेठ २०६१ मा प्रधानमन्त्री भएका थिए तर ८ महिनापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा हटाउँदै सत्ता आफ्नो हातमा लिएका थिए ।
यस्तै १५ महिना अघि देउवा कांग्रेसको तत्कालिन संस्थापन पक्षलाई हराउँदै पार्टी सभापति भएका थिए । सुशील कोइरालाको निधनपछि भएको पार्टी संसदीय दलको चुनावमा उनी दलको नेता चुनिएका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्