बिचौलियाका कारण अण्डाको मुल्य बृद्धी
सरकारी तथ्यांक र नेतृत्वको भाषण सुन्दा लाग्छ— मुलुक अन्डामा आत्मनिर्भर भइसक्यो । प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै २०७७ चैतमै आत्मनिर्भर भएको दाबी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्डामा आत्मनिर्भर भएको बताउँदै एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएको दाबी गरेका थिए ।
अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । तर बजारमा अन्डाको मूल्य मनलाग्दी छ । व्यवसायीले उत्पादनमा कमी आएको बताउँदै एक–दुई सातामै मूल्य बढाएका छन् । वैशाखयताकै कुरा गर्दा एक क्रेटमा १ सय ४० रुपैयाँसम्म मूल्य बढेको छ ।

‘माग र आपूर्तिले मूल्य निर्धारण गरेको भन्दै बजारमा लुट सुरु भएको छ । केही व्यक्तिको भेलाले सातापिच्छे मूल्य बढाएको छ । उपभोक्ता मूल्यकै कुरा गर्दा एउटा अन्डाको मूल्य २५ रुपैयाँसम्म पर्छ । क्रेटको ६ सय रुपैयाँभन्दा बढी पुगेको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बजारमा बिचौलियाको रजगज बढेको छ । तर सरकार यस विषयमा मौन छ ।’
आत्मनिर्भर घोषित वस्तुको स्वाभाविक रूपमा मूल्य घट्नुपर्ने हो । तर सीमित व्यापारी र बिचौलियाको भेलाले अन्डाको बजार मूल्य निर्धारण गरेको तिमिल्सिनाको भनाइ छ । ‘केही व्यक्ति बसेर मूल्य बढाएको देखिन्छ, तर सरकारले उपभोक्ताको पक्षमा अनुगमन नियमन गर्न चासो नै दिएको छैन । आफू अनुकूल (फाइदा हुने) ठाउँमा मात्रै अनुगमन भएको छ,’ उनले भने, ‘मूल्यको जिम्मेवारी उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र वाणिज्य विभागले लिनुपर्छ ।’
नेपाल लेयर्स कुखुरापालक संघले मूल्य निर्धारण गरेको तथ्यांक हेर्दा मूल्य अस्वाभाविक बढेको देखिन्छ । २०८२ वैशाख १४ मा प्रतिक्रेट ठूलो अन्डाको मूल्य ४ सय ५ रुपैयाँ थियो । २०८२ साउन ६ सम्म आइपुग्दा मूल्य बढेर प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ । मिडियम अन्डाको भाउ पनि उस्तै बढेको छ ।
वैशाख १४ मा प्रतिक्रेट ३ सय ५५ रुपैयाँ थियो । साउन ६ मा मूल्य बढेर प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । यो मूल्य चितवनलाई आधार मानेर निर्धारण गरिएको हो । देशभरि नै अन्डा बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने गरेको संघले जनाएको छ । खुद्रा बजार (उपभोक्तासम्म) आइपुग्दा मूल्य झनै बढेको संघको भनाइ छ ।
‘मूल्य बढ्नुको प्रमुख कारण एकाधिकार हो । उत्पादन केही घटेको पनि छ । केही किसानले चल्ला कम हालेका छन् । तर बढी अभाव गराएर मूल्य बढाउने चलखेल रचिएको छ,’ एक लेयर्स कुखुरापालकले भने, ‘अन्डाको मूल्य घटाउने–बढाउनेमा ठूला व्यापारी र ठूला कुखुरापालकको हात हुन्छ ।’ ती किसानका अनुसार बजारमा मूल्य बढे पनि साना किसानले अझै मूल्य पाएका छैनन् । ठूला किसानले मात्र मूल्य पाएको ती किसानको दाबी छ ।
‘अन्डा क्षेत्रमा पनि विभिन्न तह छन् । किसानबाट सर्वसाधारणसम्म आइपुग्दा करिब ६ तह पार गर्नुपर्छ । उत्पादक किसान, सप्लायर्स, (काठमाडौं, विराटनगरलगायत ठूला सहर) त्यसपछि सब डिपो, होटल÷पसल र त्यसपछि बल्ल उपभोक्तामा आइपुग्छ,’ ती किसानले भने, ‘मूल्य सप्लायर्समा निर्भर हुन्छ । दानापानी सप्लायर्सले उपलब्ध गराउँछन् । थोरैमा उठाएर महँगोमा बिक्री गर्छन् । त्यही भएर साना किसानले मूल्य पाउँदैनन् । ठूला किसान आफैं सप्लायर्स हुन्छन्, तिनले मूल्य राम्रै पाउँछन् ।’
पशुसेवा विभागले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार अन्डाको मूल्यमा दानाको योगदान ७५ प्रतिशत हुन्छ । श्रम खर्च ७ प्रतिशत, पुँजीगत (खोर खर्च) २ प्रतिशत, लगानीमा ब्याज करिब ६ प्रतिशत र चल्लाको भाउ करिब ३ प्रतिशतले मूल्य निर्धारण गरिन्छ । ‘ठूला व्यवसायीले नै लेयर्स कुखुरा पालेका छन् । दाना पनि उनीहरू नै बनाउँछन् । मूल्य पनि उनीहरूले नै निर्धारण गर्छन्,’ संघका एक अधिकारीले भने, ‘बजारमा एक हिसाबले मनपरीतन्त्र लागू भएको छ ।’
अन्डा मुख्यतः चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा उत्पादन हुन्छ । चितवनलाई आधार मानेर अन्डाको मूल्य निर्धारण गरिन्छ । बजार मूल्य नियन्त्रण गर्न उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि बजार तह निर्धारण गर्न भनेको छ । तर सरकारले अहिलेसम्म बजार तह निर्धारण गरेको छैन । त्यसको मौका व्यवसायीले आफू अनुकूल मूल्य घटबढ गर्दै आएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्