सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीमै फर्किए कुशवाहा, पालो वैद्य र विप्लवको

पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा माओवादी केन्द्रमा फर्किएका छन् । उनी माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए ।

सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशका क्रममा कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर माओवादी केन्द्रमा फर्किएको बताएका छन ।

कार्यक्रममा प्रचण्डले ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताएका छन् । उनले अघि भने–‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै र्फकनुपर्छ, सबै नेता फर्केपछि एक्लै र्फकनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि र्फकनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन ।’

अर्को एक प्रसंगमा दाहालले स्थानीय तहमा जुनसुकैले जिते पनि काम माओवादीकै गर्नु पर्ने बताएका छन् । प्रचण्डले भने–‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं । तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ ।’

उनले अघि भने–‘निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्