अरु महिलासँग लागेको भन्दै प्रेमीको हात च्वाट्टै
अरु महिलाहरुसंग पनि सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाले दक्षिण कोरियामा आफ्ना प्रेमीको हात नै काटिदिएकी छिन् । प्रेमीसंगै बस्दै आएकी नेपाली महिलाले बेहोस हुने औषधी खुवाएर उनको हात काटिदिएको कोरियन सञ्चारमाध्यमले जनाएका छन ।
उनका प्रेमी कुन देशका नागरिक हुन् भन्नेबारे भने प्रहरीले अँझै खुलाएको छैन । आफ्ना प्रेमीले अरु महिलाहरुसंग पनि संगत गर्ने गरेको र निरन्तर कुराकानी गरेको थाहा पाएपछि ती दुई बीच झगडा हुँदै आएको खांग जिनगी गी हाम्यांग प्रहरी कार्यालय अनुसन्धान विभाग प्रमुखलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीका अनुसार प्रेमी सुतेको अवस्थामा फोन हेर्दा विभिन्न महिलाहरुसंग म्यासेज आदानप्रदान हुनुका साथै निरन्तर फोन संवाद हुने गरेको थाहा पाएकी थिईन् । त्यसपछि आक्रोशित नेपाली महिलाले उनका प्रेमीले खाने नियमित औषधीमा बेहोस हुने औषधी मिसाएर अपराध गर्ने योजना बनाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रेमीको हात काटेपछि महिला आफैले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन् । प्रहरीले घाइते अवस्थामा रहेका पुरुषलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याएको थियो ।
यद्यपी काटिएको हात भने प्रहरीले ६ घन्टा व्यापक खोजतलास गरी भेटाएर अस्पताल पुर्याएको थियो । अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन् । चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेका छन ।
अभियुक्त महिला फरार रहेको र प्रहरीले गम्भिर आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउको लागि आदेश दिन अदालतसँग माग गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्