नेपाल चिनाउन जापानमा ‘नेपाल फेस्टिवल’को आयोजना
जापानीहरुलाई नेपाली कला, सँस्कृति र पर्यटन सम्बन्धि जानकारी दिने उद्देश्यले जापानको टोक्योमा आयोजना गर्न लागिएको दशौँ नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिवल गैर आवासीय नेपाली संघ जापानको आयोजनामा अगष्ट २६ र २७ तारिखमा हुँदै छ ।
फेष्टिवल मुल आयोजक समितिका संयोजक एनआरएनए जापानका उपाध्यक्ष टासी वाङदी लामाका अनुसार अहिले स्टल बुकिङको काम सकिएको छ । लामाका अनुसार फेस्टिवलमा कुल ४६ वटा स्टलहरु रहने छन । नेपालको पर्यटकीय स्थलको जानकारी, नेपाली पोषाक, नेपाली खाना आदी फेस्टिवलका आकर्षण रहनेछन ।
फेस्टिवलमा नेपाली परिकार सहितका रेष्टुरेन्टका साथै नेपालीहरुद्धारा संचालीत विभिन्न ब्यवसायीक स्टलहरु पनि रहने छन । फेस्टिवल जापानस्थित नेपाली दुतावासको बिषेष सहयोगमा टोक्योस्थित उएनो पार्कमा हुने भएको छ ।
एनआएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार नेपाल फेस्टिवललाई भव्य बनाउन प्रचारप्रसारमा कुनै पनि कसुर बाँकी राखिएको छैन । अध्यक्ष थापाका अनुसार नेपाली तथा जापानी संचार माध्यमका साथै बिभिन्न समिति तथा उपसमितिमार्फत जापानका बिभिन्न शहरहरुमा ब्यापक प्रचार गरिएको छ ।
गत वर्षको फेस्टिवलमा खर्च र आम्दानी बराबरी भएकाले यसपाली फेस्टिवल घाटामा सम्भावना रहेको आयोजक समितिको अनुमान छ । आयोजकले घाटा नहोस भनेर भाग्यशाली उपहार चिट्ठा कार्यक्रम संचालन गर्ने भएको छ ।
फेस्टिवलमा लगभग १ करोड ७० लाख जापनिज येन खर्च हुने अनुमान गरिएको छ । हालसम्म स्टल बुकिङमार्फत १ करोड येन संकलन भएको आयोजक समितिले जनाएको छ । फेस्टिवलको मुख्य प्रायोजक र अन्य प्रायोजकबारे अँझै टुंगो लागेको छैन ।
फेष्टिवललाई मनोरंजनात्मक बनाउन बिभिन्न नेपाली कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै नेपाली कला र संस्कृति झल्काउने नृत्यका साथै झाँकीहरु प्रस्तुत गरिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्